संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ट्रान्समिसन लाइनको मुआब्जा माग गर्दै अरुण सरोकार समिति गठन भएको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजना अन्तर्गत चार सय केभी प्रसारण लाइनको मुआब्जा माग गर्दै सरोकार समिति गठन भएको हो । अरुण तेस्रो आयोजनाका लागि सङ्खुवासभामा ४३ वटा ट्रान्समिसन लाइन रहने छन् ।
मंगलबार खाँदबारी नगरपालिका–३ स्थानीयहरुको भेलाले अध्यक्षमा किशोरकुमार गुरुङको अध्यक्षतामा ३९ सदस्यीय ट्रान्समिसन लाइन मुआब्जा सरोकार समिति गठन गरेको छ । ट्रान्समिसन लाइन संखुवासभा जिल्लाको चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट सुरु भई डाँडागाँउ, आहाले, छ्याङकुटी हुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा, पिप्ले रयले बेंशी र भोजपुरको षडान्नद नगपालिका हुदै जाने सतलज कम्पनीले जनाएको छ ।
ट्रान्समिसन लाइन चिचिला गाउँपालिका १, २ र ३ हँुदै खाँदबारी नगरपालिका ४, ३, २ र १ र ८ नम्बर वडा हँुदै भोजपुर लगिने छ । ट्रान्समिसन लाइनले आठ वटा वडाभित्रका करिब ५९४ घरधुरीको जग्गा अधिग्रहण गर्नेछ । जग्जाधनीहरुलाई मुआब्जा बापत उचित क्षतिपूर्ति दिनुपर्ने भेलाको माग छ । अरुण तेस्रोले अहिले ट्रान्समिसन लाइन टावरले करिब ४६ मिटर जग्गा कभर गर्छ ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणको कार्य धमाधम भइरहेको छ । ट्रान्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा हुँदै मोहत्तरी हँुदै भारत पुग्ने सतलज कम्पनीले जनाएको छ । सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकामा–५ नुमको फ्याक्सीन्दामा ड्याम साइड निर्माण भइरहेको छ भने पावर हाउस चिचिला गाउँपालिका दिदिङको पुखुवामा निर्माण भइरहेको छ । ट्रान्समिसन लाइनको नेपालका ७ जिल्लामा ५ सय १ टावर हुने जनाइएको छ ।

