विराटनगर । विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने भन्दै प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने जनाएको छ ।
विपदको समयमा राहत र उद्धारका लागि संघीय सरकारको भर पर्नुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश १ सरकारले एउटा हेलिकप्टर खरिद गर्ने भएको हो । ‘संघीय सरकारको भर पर्नुपर्दा आपतविपदमा राहत वितरण र उद्धार कार्यमा ढिलासुस्ती हुने गरेकोले प्रदेश सरकारको आफ्नै हेलिकप्टर भए विपद व्यवस्थापन कार्य प्रभावकारी बनाउन सकिने थियो,’ प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले भने ।
उनका अनुसार प्रदेश सरकारको आफ्नो हेलिकप्टर नहुँदा केही दिनअघि ताप्लेजुङमा गोठ सार्दा हिउँमा पुरिएका बाबुछोराको उद्धार गर्न पनि ढिलाइ भएको बताए । प्रदेश १ बाढी, पहिरो, आगलागी, हुरीबतास आदि विपदको उच्च जोखिममा रहेकोले उद्धार र राहतका लागि हेलिकेप्टर अति आवश्यक भएको मन्त्री कार्कीको दाबी छ ।
प्रदेश सरकारको उच्च स्तरिय विपद व्यवस्थापन समितिले उद्धार र राहतका लागि आफ्नै हेलिकप्टरको टड्कारो खाँचो रहेको भन्दै खरिद गर्न सुझाव दिइसकेको छ । ‘यसैले चाँडै मन्त्रालयबाट मन्त्रीपरिषदमा प्रस्ताव लगेर निर्णय गराएर एक थान हेलिकेप्टर खरिद गर्नेछौं’, मन्त्री कार्कीले भने । यसैगरी प्रदेश १ सरकारले प्रत्येक पालिकामा हेलिप्याड बनाउने अघिल्लो सरकारको निर्णयलाई निरन्तरता दिने भएको छ ।
प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७ । ०७८ मा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र मार्फत एकीकृत रूपले सेवा प्रदान गराउन ११ स्थानीय तहलाई ५ करोड ६७ लाख २० हजार मूल्यको ११ वटा दमकल र ६ करोड २८ लाख २७ हजार ४ सय ६० रुपैयाँ मूल्यको ११ वटा प्रहरी भ्यान प्रदान गरेको थियो ।
जोखिम क्षेत्रका वस्ती स्थानान्तरण गरिने
मन्त्री कार्कीका अनुसार सरकारले विपद्को समयमा चन्दा मागेर राहत वितरण गर्नुपर्ने बाध्यता अन्त्य गर्न आगामि वर्षदेखि विपद कोषको रकम वृद्धि गरेर पर्याप्त बजेट नै विनियोजन गराउने बताए । उनले हरेक बर्ष बाढीमा डुवान हुने क्षेत्रका बस्तीलाई स्थानीय पालिकाको सहकार्यमा नक्साङ्कन गर्दै स्थानान्तरण गर्ने योजना सरकारले कार्यान्वयन गराउन लागिपरेको जानकारी गराए ।
म अघि बढ्छुको नाम परिवर्तन
यसैगरी प्रदेश १ सरकार आन्तरिक मामिला मन्त्रालयको ‘म अघि बढ्छु’ भन्ने कार्यक्रमलाई परिमार्जन गर्ने भएको छ । सोही कार्यक्रम अन्तर्गत विपद व्यवस्थापनमा प्रभावकारी रूपले स्वयंसेवक परिचालन गर्न प्रदेशका १ सय ३७ वटै पालिकाहरुमा संयुक्त्त समिति निर्माण गर्ने भएको हो । ‘हाम्रो अभियान स्वाभिमान प्रदेश’ नारासहित प्रदेशका सबै पालिकामा स्थानीय युवा, नागरिक समाज, जनप्रतिनिधिसहितको संयुक्त समिति निर्माण गरेर उनीहरुलाई सबै खाले आपत विपतमा स्वयंसेवकका रुपमा परिचालन गर्ने योजना प्रदेश सरकारको छ ।
यसअघिको सरकारले सोही प्रकृतिको कार्यक्रमलाई ‘म अघि बढ्छु’ भन्ने नामाकरण गरेको थियो । अहिलेका आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले भने, ‘पहिले म अघि बढ्छु भन्ने थियो, अब हामी सबै अगाडि बढ्ने हो, त्यही भएर हाम्रो अभियान भन्ने नाम दिइएको हो ।’
मन्त्री कार्कीले सरकारले जनतामा निरासा हुन नदिने पनि बताएका छन् । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले शासक होइन जनताको सेवक भएर काम गर्ने बताए । सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्ने उनको भनाइ छ ।
अघिल्लो दुई तिहाईको सरकार र त्यसको नेतृत्व गरेका केपी शर्मा ओलीको तानाशाही शासक बन्ने मानसिकताका कारण फेरि पनि लोकतन्त्रका अवयव अन्योलको भूमरीमा फस्न पुगेको बताउँदै उनले त्यसलाई सही ठाउँमा ल्याउनका लागि चुनौति रहेको बताए । उनले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकको विकास सम्भव रहेको बताउँदै अहिले पनि कांग्रेससहित गठबन्धन दल त्यही भूमिकामा रहेको दाबी गरे ।
मन्त्रालय सम्हालेको आज ६४ औँ दिन भएको बताउँदै उनले १४ वटै जिल्ला अन्तरगत प्रहरी चौकीहरुको मर्मत सम्भार गरि पूर्वधारको विकास गर्ने बताए । अपराधिक घटना नियन्त्रण गर्ने, अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाई समाजमा पुनःस्थापित गराउने दायित्व मन्त्रालयले ग्रहण गरेको मन्त्री कार्कीको भनाइ छ ।
ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो रहेको बताउँदै उनले भारत तथा तेस्रो देशबाट आउने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइने व्यवस्था मिलाएको र संक्रमित पहिचान भएकालाई कोभिड १९ उपचार केन्द्र, होल्डिङ सेन्टर लगायत उपयुक्त तोकिएको ठाउँमा राखेर उपचार गरिएको जानकारी दिए ।
मन्त्री कार्कीले प्रदेशका सबै कारागारको व्यवस्थापनमा सुधार ल्याउने र निर्माण भएको कानूनलाई अध्ययन गरी संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने बताउँदै न्यायमा पहुँच नपुगेका नागरिकलाई सहायता गर्न प्रत्येक जिल्लामा सहायता कक्ष स्थापना गर्ने भन्दै सडक दुर्घटना कम गराउन सडक सुरक्षामा सरकार विशेष ध्यान दिने बताए । आइतबार झापा कारागारको निरीक्षण गरेका मन्त्री कार्कीले अब चाँडै मोरङ कारागारको पनि निरीक्षण गर्ने र प्रदेशका सबै कारागारलाई व्यवस्थित बनाउने बताए ।
ट्राफिक सप्ताह होइन, ट्राफिक सदा नारा आवश्यक छ भन्दै उनले ट्राफिक व्यवस्थापनमा सुधार गर्ने बताए । यसअघि मन्त्रालयले ट्राफिक सप्ताह मनाएको थियो । अब भने ट्राफिक सदा भन्ने नारा व्यवहारमा लागू गर्नुपर्ने उनको धारणा छ । ट्राफिक प्रहरीसँग कसैको सोर्स नलागोस भन्दै उनले ट्राफिक अपराध सबैलाई कानूनी दायरामा ल्याइने बताए ।
मन्त्री कार्कीले प्रदेशबाटै राजपत्र छाप्न मेसिन खरिद गर्ने प्रक्रिया अघि बढिसकेको बताउँदै सबैको हातहातमा राजपत्र पुर्याउने वचन दिएका छन् । प्रदेश १ का सञ्चार गृहको तथ्याङ्कीकरण गर्ने, पत्रकारको क्षमता अभिवृद्धि, संस्थागत विकासका साथै सञ्चारगृहको अनुगमन गरी समस्या पहिचान गरिने उनले बताए । नोवेल मेडिकल कलेजमा देखिको विषयलाई गम्भीर रूपमा लिएको बताउँदै उनले समस्याका समाधान गर्न पहल गर्ने बताए ।