विराटनगर । मोरङ व्यापार संघको नयाँ नेतृत्वका लागि २१ गते हुने निर्वाचनको प्रक्रिया मङ्गलबारदेखि सुरु हुँदैछ ।
३३ औं कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार मङ्गलबार मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता तथा उम्मेद्वारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको छ ।
आयोगका अनुसार मतदान २१ गते बुधबार बिहान १० बजेदेखि २ बजे दिउँसो मोरङ व्यापार संघको भवनमा हुनेछ । व्यापार संघको निर्वाचन समितिको संयोजकमा अधिवक्ता पुनकुमार गुप्ता तथा सदस्यहरुमा अधिवक्ता सिताराम राई र विनोद तिम्सिना रहेका छन् ।
कार्यसमिति सहमतिबाटै हुने
व्यापार संघको उक्त कार्यसमिति चयन सहमतिबाटै हुने बताइएको छ । व्यापार संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष नविन रिजालले १६ जना कार्यसमिति सदस्य चयनका लागि सहमतिको प्रयास जारी रहेको बताए । ‘हामी सहमतिका साथ अगाडि जाने गरी छलफलमा जुटिरहेका छौं,’ रिजालले भने, ‘कार्यसमिति चयन पछि सोही कार्यसमितिको बहुमत सदस्यहरूको मतले पदाधिकारी चयन हुन्छ ।’
अहिलेसम्म अध्यक्षमा नविन रिजाल एक्लो दाबेदार देखिएका छन् । उनको प्रतिस्पर्धामा अन्य उम्मेद्वार हालसम्म नदेखिएकोले उनै सर्वसम्मत निर्वाचित हुने सम्भावना छ । व्यापार संघको संशोधित नियमावली अनुसार सदस्यहरूमा वाणिज्य क्षेत्रबाट ८ र उद्योग क्षेत्रबाट ८ जना चयन हुनेछन् । यस्तै पदाधिकारीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग र वाणिज्यबाट उपाध्यक्ष १÷१ जना, महासचिव १, सचिव १ र कोषाध्यक्ष १ गरी ७ जनाको पदाधिकारी चयन हुन्छ । कार्यसमितिले मनोनित गर्ने अन्य सदस्यसहित मोरङ व्यापार संघको कार्यकारिणी समिति २१ जनाको हुनेछ ।
हालसम्म अध्यक्षमा रिजाल, वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष (उद्योग) अनिल सारडा, उपाध्यक्ष (वाणिज्य) विकास बेगवानी र महासचिवमा अनिल साहलाई नै दोहोर्याउने गरी छलफल अगाडि बढेको स्रोतको भनाइ छ । ‘यसअघिको कार्यकारिणी समितिकै सदस्यहरू सदस्यमा आउनेछन्, थप केही नयाँ अनुहार पनि आउँछन्,’ स्रोतले भन्यो । यसअघिको कार्यसमितिमा अमित सारडा, आषिश जाजु, देवाशीष गोल्छा, मनिषकुमार मारु, दीपेश सुवेदी, पवन राठी, सञ्जयकुमार श्रेष्ठ, राजेशकुमार अग्रवाल, सन्तनु रेग्मी, सुशील सुराना र नवराज चापागाईं थिए । उनीहरू पुनः दोहोरिने बताइएको छ ।
पदाधिकारीको टुंगो माघमा
यसैबीच पदाधिकारी चयन भने माघ महिनामा मात्रै हुने भएको छ । पुस महिना शुभ कार्यका लागि उपर्युक्त नभएका कारण पदाधिकारीको टुंगो माघमा लगाउने सहमति भएको रिजालले बताए । ‘पुस महिनामा शुभ कार्य नगर्ने हाम्रो संस्कार हो, त्यही भएर पदाधिकारी चयनको काम माघ लागेपछि मात्रै हुन्छ,’ रिजालले भने । मंसिर १६ गते मोरङ व्यापार संघले आफ्नो ६५ औं साधरणसभा सम्पन्न गरिसकेको छ ।

