विराटनगर । स्रोत नखुलेको ५० लाख रूपैयाँसहित सौर्य एयरका स्टेशन म्यानेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रूपैयाँसहित सौर्य एयरको विराटनगरस्थित स्टेशन मेनेजेर प्रकाश पौडेल र सौर्य एयरलाइन्सको काठमाडौंमा एसिस्टेन्टसमेत रहेकी काठमाण्डौंको सिनामंगल विराटनगर–४ की ३३ वर्षीय रेशा शाक्य पक्राउ परेकी हुन् ।

शनिबार दिउँसो पौने २ बजे विमानस्थलबाट ५० लाख रूपैयाँ बरामद भएपछि सौर्य एयरलाईन्सका कर्मचारीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । विराटनगरबाट उडेको सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू ७२४ मा स्रोत नखुलेको रकम बरामद भएको हो ।

सादा पोसाकमा खटिएको प्रहरीले रातो रंगको भद्रपुर लेखिएको झोला चेक गर्दा प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्र स्रोत नखुलेको रकम बरामद भएको हो । एक हजार दरका ४९५० वटा र पाँच सय दरका १०० वटा गरी ५० लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । सो रकम लिन आएको आरोपमा शाक्यलाई प्रहरीले पक्राउ गरेको हो भने सौर्य एयरको विराटनगरस्थित स्टेशन मेनेजेर पौडेले सो झोला हालेको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

सौर्य एयरलायन्सको १ः३० बजेको उडानमा सुरक्षा जाँच नै नगराई पठाएको पोकामा काठमाडौं विमानस्थलबाट ५० लाख नगद बरामद भएपछि पौडेललाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले बताए । प्रहरीका अनुसार विराटनगर १० घर भएका पौडेलले सुरक्षा जाँच नै नगराई पोका विमानमा राखेको शंका लागेपछि प्रहरीले सोधखोज गर्दागर्दैमा विमान उडेपछि काठमाडौंमा खबर गरेर चेकजाँच गर्न लगाउँदा रकम बरामद भएको हो ।

शंकास्पद रकम चेक नगरिकनै पठाएको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । विराटनगरमा चेक नगरी झोला विमानमा हालेको विराटनगर विमानस्थलमा खिटएको प्रहरीले दिएको सुचनापछि चेक गर्दा ५० लाख भेटिएको विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए । स्टेशन मेनेजर पौडेलले विमान उठन लागेपछि ५० लाखको रकम भएको झोला विमानस्थलमा हालेको प्रहरीले जनाएको छ । बरामद गरेको रकम हुण्डीको भएको आशंका गरिएको छ । ‘बरामद भएको रकम हुण्डी हुनसक्ने आशंका गरिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिृकतले भने, ‘यसतर्फ पनि हामीले अनुसन्धान सुरु गरेका छौं ।’

सौर्य एयरलाइन्समा लगानीकर्तामध्ये एक जना भारतीय नागरिक पनि रहेका छन् । हुण्डीमार्फत आएको रकम हुनसक्ने र गन्तव्यमा पु¥याउने क्रममा बरामद भएकोले यसतर्फ पनि अनुसन्धानको दायारा बढाएको स्रोतले जानकारी दिएको छ । उक्त रकम कम्पनीको हो वा अवैध हो भन्नेबारे अनुसन्धानबाट खुल्ने मोरङ प्रहरी प्रमुख एसपी जिसीले बताए ।

बरामद भएको नगद र पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाएको जनाएको छ । नेपालमा १० लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने कानूनी प्रावधान छ । सौर्य एयरलायन्सले काठमाडौं–विराटनगर दैनिक दुई वटा उडान गर्दैआएको छ ।