ओलीले शिलान्यास गरेको बस्ती अलपत्र

उर्लाबारी । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको मोरङको उर्लाबारीस्थित सन्थाल बस्ती जग्गा विवादको कारण अन्यौलमा परेको छ ।

कुल ३१ हजार ७६८ वर्ग मिटरमा निर्माण गर्ने भन्दै गत फागुन ८ गते ओलीले शिलान्यास गरेको बस्ती निर्माणको लागि ठेक्का लागेको भएपनि विस्तार निर्माणको काम सुरु हुन नसकेको हो ।
एकीकृत बस्ती विकास कार्यविधि २०७५ अनुसार निर्माण गर्ने भनिएको बस्तीलाई नमुना बस्तीको रूपमा रूपान्तरण गर्ने सरकारको योजना छ । स्थानीय सिप र कलाको प्रयोग गरी भान्सासहित ३ कोठा र शौचालयसहितको घर बनाउने बस्तीमा सडक, खानेपानी, स्वास्थ्य चौकी, खेल मैदान र सामुदायिक भवन रहने घोषणा गरिएको थियो ।

बस्ती शिलान्यास गर्दै ओलीले सन्थाल जातिको सँस्कृति संरक्षणको लागि बाजागाजाको व्यवस्था मिलाउने भन्दै नमुना बस्तीमा नाच्न तयार रहन आग्रह गरेका थिए । कुल १३२ वटा घरमध्ये १०६ सन्थाल जातिको र २६ उराउ जातिको लागि बनाउने योजना थियो ।

एकीकृत सहरी विकाश कार्यक्रम अन्तर्गत उर्लाबारी नगरपालिकाको रातोहोलीको किनारमा सन्थाल एकीकृत बस्ती निर्माण गर्ने योजना छ । १८ करोडको लागतमा बन्न लागको सो परियोजना १८ महिनाभित्र सम्पन्न गरिसक्ने बताइएको थियो । तर, १० महिनासम्म कुनै काम अगाडि बढेको छैन ।

सहरी विकाश मन्त्रालयको गुरुयोजना अनुसार अगाडि बढेको बस्ती निर्माण प्रक्रिया जग्गा विवादको कारण रोकिएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताए । ४० वर्षदेखि स्थानीयले चर्चेको जग्गा छाड्न नमानेपछि अन्यौलता देखिएको हो । जग्गा चर्चेर बस्नेहरू सन्थाल उराउ जाति बाहेकका छन् ।

शिलान्यासकै दिन बस्ती बन्नेमा ढुक्क नदेखिएका रोमन किस्कु नेताहरूले झुट बाचा गर्ने गरेको बताएका छन् । ओलीले पनि धोका मात्र दिएको उनको भनाइ छ । खोला किनारामा छाप्रो हालेर बसेका बल्कु मार्डीलाई भने अझै आश मरेको छैन । गरिबको लागि भगवानले साथ दिन्छन् भन्ने उनलाई विश्वास छ ।

शिलान्यास कार्यक्रममा ओलीलाई धन्यवाद दिएका बुद्धिलाल सोरेन पनि अहिले निराश भएका छन् । पूर्वी नेपालको झापा र मोरङमा बस्ने सन्थाल जाति सीमान्तकृत छन् । २०६८ को जनगणना अनुसार ५१ हजार ७३५ सन्थालको नेपालमा बसोबास छ ।

पुस १४, २०७८, दिउँसोको ०२:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर