प्रदेश १ सरकारले किनेका करोडौं मूल्यका दमकल प्रयोगबिहीन

विराटनगर । शेरधन राई नेतृत्वको प्रदेश १ को अघिल्लो सरकारले खरिद गरेका करोडौं मूल्यका पिकअप भ्यान र दमकल प्रयोगमा नआई अलपत्र बनेका छन् ।

सवारी साधन खरिदमा मात्र ध्यान केन्द्रित गरेको आरोप लागेका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको जोडबलमा खरिद गरिएका ११ वटा पिकअप र १४ वटा दमकल प्रयोगमा नआएका हुन् ।

मन्त्री कार्कीले आर्थिक वर्ष २०७६–७७ मा ५२ लाख ८० हजार रुपैयाँको दरले ११ वटा र २०७७–७८ मा ५७ लाखको दरमा ३ वटासहित सरताज ब्रान्डको १४ वटा दमकल ७ करोड ५१ लाख ८० हजार रुपैयाँमा खरिद गरेका थिए । यस्तै ३७ लाख ७३ हजार ३९० रुपैयाँका दरमा टाटा कम्पनीको १४ वटा पिकअप भ्यान ५ करोड २८ लाख २७ खर्चेर खरिद गरिएकोमा अहिले पनि चार वटा मन्त्रालय परिसरमा अलपत्र अवस्थामा थन्किएका छन् ।

सबै जिल्लामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना गर्ने भन्दै कार्कीले खरिद गरेकामध्ये १२ जिल्लामा कार्यविधिबिनै दमकल र पिकअप खरिद वितरण गरियो । ताप्लेजुङ र सोलुखुम्बुका लागि किनिएका दमकल र पिकअप भ्यान भने अझै मन्त्रालय परिसरमा छन् ।

मन्त्रालयले सुनसरीको कोसी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, इलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिकामा दमकल र पिकअप भ्यान वितरण गरेको छ । यस्तै, धनकुटा नगरपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, भोजपुरको हतुवागढी, उदयपुरको रतुवामाई र संखुवासभाको खाँदबारी नगरपालिकामा वितरण गरेको जनाएको छ ।

सोलुखुम्बुको सोताङ गाउँपालिका र ताप्लेजुङको फुङलिङ नगरपालिकाले मन्त्रालयले दिएको दमकल र पिकअप भ्यान भने अझै मन्त्रालयमा छ । फुङलिङ नगरपालिकाले आफूसँग एउटा दमकल भएकोले अर्काे व्यवस्थापन गर्न कठिन हुने भन्दै लगेको छैन ।

प्रहरी इकाईमा राखेर सञ्चालन तथा व्यवस्थापन गर्नेगरि दमलक र पिकअप प्रदान गरेको मन्त्रालयले जनाएको छ । तर, मन्त्रालयले दिएको पिकअप ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङले चढिरहेको पाइएको छ ।

उपप्रमुख गुरुङले पिकअप भ्यान ल्याउने बित्तिकै बिग्रेकोमा ५–६ लाख रुपैयाँ खर्च गरेर मर्मतपछि आफूले चढ्दै आएको बताइन् । मन्त्रालयले चालु आर्थिक वर्षमा पनि एम्बुलेन्स, दमकल र शववाहन खरिदका लागि २ करोड ४० लाखका दरले ७ करोड २० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेट निर्माणको समयमा कार्की नै मन्त्री थिए ।

मन्त्रालयका सचिव कालिप्रसाद पराजुलीले मन्त्रालयमा रहेको दुई वटा पिकअप भ्यान र दमकल तोकिएका स्थानीय तहले नलगेकोले कहाँ दिने भन्नेबारे छलफल भइरहेको बताएका छन् । मन्त्रालयले विराटनगरमा एउटा र सुनसरीको देवानगन्ज गाउँपालिकामा अर्को दमकल दिने तयारी गरेको बुझिएको छ ।

– कान्तिपुरबाट साभार

बुधबार, १४ पुष, २०७८, दिउँसोको ०२:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर