विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको रेमिट्यान्स पार्किङ एकाउन्टबाट रकम अपचलन भएको रकम असुलउपर हुनेमा विश्वस्त रहन आफ्ना शेयरधनी र ग्राहकहरुलाई बैंकले आग्रह गरेको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकले रेमिट्यान्स पार्किङ एकाउन्टबाट भएको रकम अपचलनकै कारण बैंकको निक्षेप, शेयरधनीको लगानी तथा अन्य कारोबारमा फरक नपर्ने भएकोले कारोवारप्रति विश्वस्त रहन आग्रह गरेको हो ।
प्रदेश १ मा स्थापना भएर विश्वसनीय बैंकको रुपमा विकास भइरहेको अवस्थामा भएको घटनाका सन्दर्भमा अनुसन्धान जारी रहेको र दोषिमाथि कानून बमोजिम कारवाही हुने कुरामा दुईमत नभएको विज्ञप्तिमा उल्लेख छ । बैंकको रेमिट्यान्स पार्किङ एकाउन्टको रकम अपचलन भएको विषयलाई लिएर केही दिनयता बैंकका विरुद्ध लक्षित भएर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै बैंकप्रति नकारात्मक प्रभाव पर्ने र यसको विश्वासमा आँच आउन दिन नहुने विज्ञप्तिमा उल्लेख छ ।
प्रचलित कानून, आर्थिक नीति, नियम र मार्गदर्शनमा आधारित रहेर बैंकले आफ्ना क्रियाकलापहरु सञ्चालन गरिरहेको जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को मंसिर मसान्तसम्म बैंकको पुँजीकोष ८६ करो ३३ लाख, निक्षेप ४ अर्ब १८ करोड संकलन भएको तथा ४ अर्ब ३६ करोड कर्जा लगानी र सरकारी सुरक्षणपत्रमा १८ करोड लगानी भएको बैंकले जनाएको छ ।
बैंकको विराटनगरस्थित कर्पाेरेट कार्यालयबाट विगत ६ वर्षदेखि ‘फर्जी’ कारोबार बनाएर रेमिटेन्सको १५ करोडभन्दा माथिको रकम हिनामिना भएको सार्वजनिक भएको छ । सो प्रकरणमा बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।
बैङ्ककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैङ्कमा आर्थिक हिनामिना भइरहेकोबारे उजुरी गरेपछि मङ्सिर पहिलो साता बैङ्कको रकम हिनामिना भएको खुलेको थियो । रेमिट शाखाबाट भएको अपचलनमा विभिन्न व्यक्तिहरु मुछिएको भन्दै प्रहरीले अनुसन्धान भइहरेको जनाएको छ ।
राष्ट्र बैङ्कले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेपछि मात्र घटनाबारे जानकारी पाएको बैङ्कका सञ्चालक समितिका अध्यक्ष अर्जुन बरालले बताएका छन् । राष्ट्र बैङ्कले पत्राचार गरेपछि तत्काल आन्तरिक छानबिन गर्दा भट्टराईको संलग्नता देखिएपछि राष्ट्र बैङ्क र जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको उनको भनाइ छ ।
बैङ्कले उजुरी दिएपछि मोरङ प्रहरीले भट्टराईलाई मङ्सिर १९ मा नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । पक्राउ परेका भट्टराई ६ वर्षदेखि बैङ्कमा कार्यरत छन् । बैंकका सिईओ नविन सुवेदीले घटनाको अनुसन्धान जारी भएकाले सबै विषय केही दिनमा बाहिर आउने बताएका छन् ।
साविकको काबेली विकास बैङ्क र सप्तकोसी डेभलपमेन्ट बैङ्क मर्जर भएर हाल सप्तकोसी डेभलपमेन्ट बैङ्क लि.नामबाट वित्तीय कारोबार गरिरहेको नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो । बैंकका प्रदेश १ का ७ जिल्लामा ३६ वटा शाखा कार्यालय छन् ।