विराटनगर । प्रदेश–१ स्तरीय मिस नेवाः ११४२ को चौथो संस्कारणको पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको छ ।
नेवारी समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन गराउँदै नेवारी संस्कृतिको प्रचारप्रसार र जगेर्ना गर्ने उद्देश्यका साथ मिस नेवाः हुन लागेको हो । जसको अडिसन विराटनगरबाट सुरु भएको छ । प्रदेश–१ का प्रमुख सहरहरुमा अडिसन हुने आयोजक मन्जिना मुभिज क्रियशनका निर्देशक जतिन ताम्राकारले जानकारी गराए । पहिलो अडिसनमा १५ जना नेवारी समुदायका युवतीहरुले सहभागिता जनाएका थिए ।
पहिलो अडिसनका निर्णयकहरुमा झि पुचःका पूर्वअध्यक्ष जयन्त प्रधानाङ्ग, कवि एवं पत्रकार मीनकुमार नवोदित, सञ्चारकर्मी रस्मिता उदास, झि पुचःका सल्लाहकार लुना श्रेष्ठ र पर्शुराम तिमिल्सिना रहेका थिए । ‘नेपा संस्कृति नेपाया गौरव’ भन्ने मुल नाराका साथ नेवारी संस्कृति संरक्षणका लागि हरेक वर्ष मिस नेवाः आयोजना हुँदै आएको छ ।
ताम्राकारका अनुसार यस वर्षको मिस नेवाः सौन्दर्य प्रतियोगिता भने माघ ७ गते विराटनगरमा हुने भएको छ । सांस्कृतिक कार्यक्रमसहित होटल नमस्कार आयोजना हुनेछ । यस वर्षको मिस नेवाःको विजेताले स्कुटीसहित १५ लाखको बिमाको सुविधा पाउने आयोजकले जनाएको छ । प्रतियोगितको विजेतालाई ग्रेटाको स्कुटर र ज्योति लाइफ इन्स्योरेन्सबाट १५ लाखको बिमा सुविधा प्राप्त हुने आयोजकले जनाएको छ ।
विराटनगरको अडिसनपछि धरान, विर्तामोडसहित प्रदेश–१ का विभिन्न सहरमा अडिसन हुने निर्देशक ताम्राकारले जानकारी दिए । यसअघि तत्कालीन कोशी अञ्चलस्तरीय हुने गरेकामा यसपटकदेखि प्रदेश–१ स्तरीय बनाइएको छ ।