विराटनगर । मोरङ व्यापार संघको नयाँ नेतृत्वका लागि २१ गते निर्वाचन हुने भएको छ ।
३३ औं कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन आयोगले आज निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अनुसार २० गते नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, उम्मेद्वारहरुको मनोनयन पत्र दर्ता तथा उम्मेद्वारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम राखेको छ ।
आयोगका अनुसार मतदान २१ गते बुधबार बिहान १० बजेदेखि २ बजे दिउँसो मोरङ व्यापार संघको भवनमा हुने उल्लेख छ । व्यापार संघको निर्वाचन समितिको संयोजकमा अधिवक्ता पुनकुमार गुप्ता तथा सदस्यहरुमा अधिवक्ता सिताराम राई र विनोद तिम्सिना रहेका छन् ।
व्यापार संघको अध्यक्षमा हालसम्म नविन रिजाल दाबेदार देखिएका छन् । उनलाई टक्कर दिने अन्य उम्मेद्वार हालसम्म नदेखिएकोले उनै सर्वसम्मत निर्वाचित हुने सम्भावना छ । अन्य पदमा भने प्रतिस्पर्धा हुनसक्ने व्यापार संघ निकट व्यवसायीले बताएका छन् ।