यस्तो बन्दैछ जहदाको नयाँ प्रशासनिक भवन

विराटनगर । मोरङको जहदा गाउँपालिको अत्याधुनिक सुविधा सम्पन्न नयाँ प्राशासनिक भवन बन्ने भएको छ । १० करोड ४५ लाख ३२ हजार ७ सय रुपैयाँमा गाउँपालिकाको नयाँ प्रशासकीय भवन बन्ने भएको हो ।

जहदा ५ मा १० कठ्ठा क्षेत्रफलमा नयाँ बन्ने चार तलाको सुविधा सम्पन्न भवन रहनेछ । गाउँपालिकाको नयाँ भवन निर्माणको लागि स्थानीय धुव्रहरी कोराइलाको परिवारले जग्गा दान गरेका हुन् ।

नयाँ भवन निर्माणको लागि काठमाडौंको अनक एण्ड जोपा एण्ड ब्रर्दशले ठेक्का पाएको छ । गाउँपालिकाले ११ करोड १२ लाख २८ हजार ९ सय १२ रुपैयाँमा अनुमानित लागतमा २७ साउनमा टेण्डर खुलाएको थियो । जसमा १५ वटा निर्माण कम्पनीले आवेदन दिएको गाउँपालिको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिए ।

१५ फर्मले आवेदन दिएकामध्ये दुई वटा फर्मले मात्र सम्पूर्ण प्रक्रिया पूरा गरेका थिए । १३ वटा फर्मले तोकिएको मापदण्ड अनुसारको प्रक्रिया पुरा नगरेको पाइएपछि उनीहरूका आवेदन रद्ध भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए । स्वीकृत भएका बिकोइन साह जेबीले भन्दा कम कबुल गरेर आवेदन दिएको कारणले अनक एण्ड जोपा एण्ड ब्रर्दशले ठेक्का पाएको घिमिरेले बताए । ठेक्को लागि बिकोइन शाहले १० करोड ५६ लाख ४१ हजार ६ सय ८३ रुपैयाँ कबुल गरेर आवेदन दिएको थियो ।

‘ठेक्का प्रक्रियामा अनियमितता भएकै छैन’

जहदा गाउँपालिकाको अध्यक्ष कैलाश प्रसाद मण्डलले गाउँपालिको नयाँ बन्ने प्रशासकीय भवनको ठेक्का प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता नभएको दाबी गरेका छन् ।

आइतबार गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै उनले गाउँपालिको ठेक्का प्रक्रिया पारदर्शी तरिकाले काम भएको बताए । ‘केही मिडियामा ठेक्का प्रक्रियाको क्रममा अनियमितता भएको भनियो । तर, मिडियामा भनेजस्तो छैन,’ उनले भने, ‘प्रक्रियागत तरिकाले काम भएको छ ।’ आउँदै गरेको चुनावलाई लक्षित गरि विपक्षीले भ्रम मात्र सिर्जना गरेको उनको भनाइ छ ।

भ्रम फैल्याउँदैमा गाउँपालिका भित्र विकास निर्माणमा कामम कुनै पनि काम नरोकिने उनले बताए । प्रक्रियागत रूपमा ठेक्का प्रक्रियाअगाडि बढेकोले चाँडै निर्माण कम्पनीसँग सम्झौता गरेर काम अघि सर्ने अध्यक्ष मण्डलले बताए । ‘२५ पुसमा गाउँपालिकामा कार्यपालिको बैठक बस्दैछ,’ उनले भने, ‘यही बैठकबाट ठेक्का स्वीकृत प्रदान गरेपछि निर्माणको प्रक्रिया पनि क्रमशः अगाडि बढनेछ ।’

आइतबार, ११ पुष, २०७८, दिउँसोको ०४:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर