विराटनगर । प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी शुरु गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले कुपोषणमुक्त प्रदेशका लागि तयारी शुरु गरेको निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
विराटनगरमा सम्पन्न प्रदेश स्तरिय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठिमा कुपोषणमुक्त प्रदेश बनाउने अभियानलाई तीव्रता दिनका लागि कार्ययोजना बनाउने निर्णय भएको निर्देशक बस्नेतले बताए । उनका अनुसार पाँचथरमा पाईलट परियोजना सुरु गर्ने तयारी गरिएको छ । युनिसेफ र एनट्यागसँगको सहकार्यमा बच्चाको पाखुरा नाप्ने, बच्चा जोख्ने, पैरवी, लेखाजोखा लगायतका कार्यक्रम गरिने बस्नेतले बताउनुभयो । कुपोषणमुक्त प्रदेशका लागि आवश्यक जनशक्ति अभाव भएको उनले बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको प्रवन्ध गर्ने प्रतिबद्धता जनाए । उनले बजेट अनुसार स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुलाई प्राथमिकता दिईने बताए । उनले स्वस्थ रहनका लागि आफ्नो व्यवहारमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।
समीक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, स्थानीयतहका प्रतिनिधि, सुआहारा, डब्ल्युएफपी, एमएसएनपी, पोषणपुर्नस्थापना गृहका प्रतिनिधि लगायतको उपस्थिति थियो । गत कात्तिकमा सम्पन्न प्रदेशस्तरिय समीक्षा गोष्ठिमा कुपोषणमुक्त प्रदेश बनाउने संकल्प प्रस्ताव पारित गरिएको थियो ।