विराटनगर । जनआन्दोलन चोकको एतिहासिकता र सांस्कृति गरिमालाई समाप्त पार्ने गरी विराटनगर महानगरपालिकाले हिमालय रोडको सौन्दर्यकरण गर्नु उचित नभएको भन्दै विराटनगरका केही अगुवा नागरिकहरुले परियोजना अन्यत्र स्थानान्तरण गर्न आग्रह गरेका छन् ।
तोरेन्द्रमानसिंह प्रधान, प्राध्यापक कृण्ण पोखरेल, मणि अर्याल, डा. भेषप्रसाद धमला लगायतका अगुवा नागरिकहरुले संयुक्त प्रेस विज्ञप्ति जारी री परियोजनाले पार्नसक्ने दीर्घकालीन प्रभावको बारेमा ख्याल नगरेको भन्दै तुरुन्त निर्माण कार्य रोक्न माग पनि गरेका छन् ।
हिमालय रोडमा जारी निर्माण कार्यले नगरका नागरिकहरुको गम्भीर ध्यानाकर्ष भएको भन्दै परियोजनाका विषयमा सरोकारवाला नागरिकहरुसँग पर्याप्त छलफल नभएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।
प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले आफूहरु विकास विरोधि भने नभएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘हामी कुनै पनि विकास परियोजनाको विरोधी होइनौं । तर, विकास परियोजनाहरू जनताका बीचमा पारदर्शी र सरोकारवालाहरूको सचेतन सहभागिताको आधारमा सञ्चालन गरिनु पर्दछ भन्ने मान्यता राख्दछौं ।’
विराटनगरको महत्वपूर्ण लिङ्करोडर विराटनगरबासीका बीचमा सम्पर्क केन्द्रको रूपमा रहेको हिमालयरोडमा सवारी साधन आवागमनलाई निषेध गर्ने कार्यले विराटनगरको विकास र गरिमामा अस्तव्यस्त पार्ने भय हुने उनीहरुको चिन्ता छ ।