माओवादी प्रदेश १ नेतृत्वमा रस्साकस्सी : उपाध्यक्षमा भोगेन्द्र यादवको दाबी

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर १ को उपाध्यक्षमा विराटनगरका भोगेन्द्र यादवले दाबी गरेका छन् ।

गत पुस २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न माओवादी प्रदेश १ को प्रथम अधिवेशनले २७४ सदस्यीय कार्यसमिति चयन गर्दै पदाधिकारी चयनलाई भने थाती राखेको थियो । हिंजो बसेको माओवादी बैठकले पदाधिकारी चयनका लागि नाम तयार पारेर सुझाव दिन भन्दै पार्टीका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश समितिका सहइन्चार्ज अजम्बर काङमाङ नेतृत्वको कार्यदल गठन गरेको छ ।

यादवले अहिलेसम्म कसैले पनि उपाध्यक्षमा दाबी नगरेको बताए । ‘मैले पहिलो पटक उपाध्यक्षमा दाबी गर्दै घोषणा गरेको छु,’ उनले भने, ‘७ गतेको प्रदेश समिति बैठकले मेरो पक्षमा निर्णय गर्छ भन्ने विश्वास छ ।’ २०५१ सालमा माओवादी र एकताकेन्द्रको फुटसँगै एकताकेन्द्रबाट राजनीतिमा सक्रिय भएका यादव महेन्द्र मोरङको विद्यार्थी आन्दोलनबाट नेताको रुपमा उदाएका हुन् । ०६५ सालमा भएका माओवादी र एकताकेन्द्रबीचको एकतापछि मोरङ जिल्लाको सहइन्चार्ज भएका यादव पछिल्लो पटक विराटनगर महानगरपालिकाको अध्यक्ष बनेका थिए ।

उनी यसअघि महानगरपालिकाको मेयर पदका लागि उम्मेद्वार समेत बनेका थिए । तर, समाजवादी फोरम र माओवादी केन्द्रबीचको समीकरणमा माथिको दबाबमा उनलाई उम्मेद्वारी दिनबाट पार्टी अध्यक्ष प्रचण्डकै आग्रहमा रोकिएको थियो । युवा र बौद्धिक छवि बनाएका यादव विराटनगरको चिरपरिचित नेता हुन् ।

पर्टीका अध्यक्ष प्रचण्ड तथा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठका विश्वासपात्र मानिने यादवलाई मधेशी, मुस्लिम, थारु र कोच समुदायको मन जित्न पनि उपाध्यक्ष बनाउनै पर्ने माओवादीलाई दबाब छ । यादवले आफू उपाध्यक्ष बन्नका लागि सुनसरी, मोरङ, झापा तथा पहाडी जिल्लाका आकांक्षीहरुसँग पनि छलफल गरिरहेको बुझिएको छ ।

बिहिबार, ०१ पुष, २०७८, दिउँसोको १२:५० बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर