विराटनगर । प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले सुनसरीस्थित यातायात कार्यालयमा ‘सरप्राइज’ अनुगमन गरेका छन् ।
बुधबार मन्त्रालको सानो टिम लिएर अपरान्ह यातायात कार्यालय पुगेका उनले सेवाग्राहीसंग परिचय नदिइक नै सेवाको गुणस्तर र अनि भोग्नु परेको समस्याबारे जानकारी लिएका हुन । कार्की यातायात कार्यालय पुग्दा सेवाग्राहीको बाक्लै उपस्थिति थियो । कर्मचारीहरु आफ्नै सुरमा काम गरिरहेका थिए ।
कार्कीले इटहरीको हलगडास्थित यातायात कार्यालयको र गैसारस्थित सवारी चालक अनुमति पत्र वितरण तथा नवीकरण हुने कार्यालयको निरीक्षण गरेका हुन । मन्त्री कार्कीले आफै विभिन्न फाँटमा पुगेर त्यहाँ कार्यरत कर्मचारीसंग भेटघाट सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा जानकारी लिए । उनले सेवाग्राहीसंग पनि समस्याबारे जानकारी लिएका थिए ।
मन्त्री कार्कीले जनभावना बुझेर सेवा दिन कर्मचारीलाई निर्देशन दिए । उनले भने,“कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार छ । तर सेवाग्राहीलाई सहज हुने गरी काम हुनुपर्यो ।” मन्त्री कार्कीले यातायात कार्यालय प्रदेश सरकारसंग जोडिएको निकाय भएकोले पनि यसको विषयमा हुने गरेको टिकाटिप्पणीको अन्त्य हुुनुपर्नेमा जोड दिए ।
यातायात कार्यालयका निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले सेवाग्रहीको चाप अत्यधिक हुने गरेको तर आफूहरुले सकेसम्म छिटो र छरितो ढंगको सेवा दिने प्रयास गरेको बताए । उनले कार्यालयभित्र दलालहरुलाई प्रवेशमा रोक लगाइएको मन्त्री कार्कीलाई जानकारी गराए । गैसारमा कार्यालय सारेपछि सेवाग्राहीलाई पर्याप्त क्षेत्रफल भएका कारण सहज भएको बताउँदै भने,“पहिलेको कार्यालय रहेको स्थानमा पाकेटमारी हुने जस्ता समस्या रहेको र अहिले अलिकति टाढा भएपनि गैसारमा त्यो समस्या देखिएको छैन ।”
यातायातका इटहरीस्थित दुबै कार्यालय अहिले भाडामा संचालनमा छन् । सरकारले इटहरीमै आफ्नो संरचना निर्माण गरिरहेको छ । त्यो केही समयपछि तयार हुने र यातायातका सबै सेवा त्यहींबाट शुरु हुने कार्कीले बताए ।