निश्चलको रहस्मय मृत्यु प्रकरण : दोषीलाई कारवाहीको माग राख्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित एक बालकको रहस्मय मृत्युको घटनाको अनुसन्धान र सत्यतथ्य सार्वजानिक गरि दोषीलाई कारवाहीको माग राख्दै संघीय सरकार अर्थमन्त्री जर्नादन शर्मालाई ज्ञापन पत्र बुझाइएको छ ।

अखिल नेपाल टे«ड यूनियन महासंघ प्रदेश १ ले अर्थमन्त्री शर्मालाई शुक्रबार भेटेर ज्ञापन पत्र बुझाएका हुन् । महासंघको प्रदेश १ का अध्यक्ष टिकाराम प्रसाइँसहितको मजदुर नेताहरुले अर्थमन्त्री शर्मालाई भेटर घटनाको सत्यतथ्य सार्वजनिक र दोषीलाई कारवाहीको पहल गरिदिनु पर्ने मागसहितको ज्ञापनपत्रको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, मोरङ प्रशासन र मोरङ प्रहरीमा पनि पठाएको छ ।

१४ वर्षीय निश्चल रायको रहमस्यम तरिकाले मृत्यु भएको घटनामा प्रहरीले गम्भीरता पूर्वक अनुसन्धान नगरेको भन्दै बुढीगगंगाका स्थानीयले यसअघि निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

कात्तिक २२ गते घरनजिकै खेलिरहेको बेला अचानक हराएका १४ वर्षे बालक निश्चलको २४ गते बिहान सिंघीया खोलामा शव फेला परेको थियो । हराएपछि पटक–पटक त्यस ठाउँमा खोजी गरिएको भएपनि फेला नपरेका बालक निश्चलको शव २४ गते बिहान पानीमा बग्दै गरेको अवस्थामा भेटिएको थियो । हराएकै दिन साँझसम्म बालक फेला नपरेपछि प्रहरीलाई खबर गरिएको भएपनि प्रहरीले खोजीका लागि आवश्यक गम्भीरता नदेखाएका कारण अपहरणमा परेका बालकको हत्या भएको आशङ्का परिवारले व्यक्त गर्दै आएका छन् ।

बालकको हत्या भएको १५ दिन बितिसक्दा पनि प्रहरी हत्याराको नजिक पुग्न नसक्नु र घटनाको यथार्थ पत्ता लगाउन असफल भएपछि स्थानीयहरु आक्रोशित बनेका छन् । उनीहरुले छिटोभन्दा छिटो बालक मृत्युको कारण पत्ता लगाउन र अभियुक्तहरुलाई पक्राउ गर्न दबाव दिन थालेका छन् । त्यसै क्रममा स्थानीय संघर्ष समितिले यसअघि विराटनगरमा वृहत प्रर्दशन गर्दै मोरङ प्रहरीमा धर्ना, निमुवामा प्रदर्शन गरी इलाका प्रहरी कार्यालय नेमुवा अगाडि राजमार्गमा चक्काजाम पनि गरेका थिए ।

बालक हत्या भएको दुई साता बितिसक्दासम्म घटनाको अनुसन्धान गर्दै आएको प्रहरीले पोष्टमार्टम र भिसेरा लगायत अन्य कुनैपनि रिपोर्टहरु सार्वजानिक गरेकको छैन । त्यसले पीडितहरुलाई कतै अनुसन्धान प्रभावित भएको त हैन भन्ने आशंका बढाइदिएको उनीहरुको गुनासो छ । प्रहरीले भने भिसेरा रिपोर्ट आउनासाथ पोष्टमार्टमको रिपोर्टपनि प्राप्त हुने र त्यसबाट मृत्युको कारण स्पष्ट हुने भन्दै रिपोर्ट पर्खेर बसेको जनाएको छ । पीडित परिवारले भने रिपोर्ट पर्खिदापर्खिदै सबै प्रमाण नष्ट भई हत्यालाई सामान्य मृत्युमा परिणत गर्ने खेल भएको आशंका गरेको छ ।

हत्यामा संलग्न हुनसक्ने व्यक्तिहरुको बारेमा प्रहरी जानकार भएपनि उनीहरुमाथि अनुसन्धान केन्द्रीत नभएको भन्दै पीडित परिवारले सबै पक्षसँग दवावका लागि सहयोगको आव्हान गरेको छ ।

शनिबार, १८ मंसिर, २०७८, साँझको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर