मोरङ कांग्रेसको सभापतिको दोस्रो निर्वाचन गर्नेबारे अन्यौल, मतदानको मिति तोकिएन

विराटनगर । मोरङ कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको निर्वाचन हुने भएको छ । तर, निर्वाचन कहिले गर्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।

आइतबार मतदान सकिएपछि पार्टी कार्यालयमै मतपेटिका लगिएको थियो । सभापतिको गणना गरिएपनि बाँकी पदाधिकारीको मतगणना दोस्रो चरणको निर्वाचन लगत्तै हुने बताइएको छ ।

सभापतिमा तीन जनामध्ये कुनै उमेदवारको पनि वहुमत नआएपछि फेरि निर्वाचन हुने भएको हो । कांग्रेसको संशोधित विधानअनुसार सभापतिले वहुमत प्राप्त गर्न बदरबाहेक खसेको मतको कम्तिका ५१ प्रतिशत ल्याउनु पर्छ । तर, आइतबार भएको निर्वाचनमा मोरङका कुनै पनि सभापति उमेदवारको बहुमत आएन ।

अवेर रातिदेखि सुरु गरिएको मत गणनाअनुसार सभापतिमा डिगबहादुर लिम्बूले १ हजार ५ सय ४४, दिलिप गच्छदारले १ हजार १ सय ५९ र यदुकुमार विष्टले ५ सय ६३ मत प्राप्त गरेका छन् । तेस्रो स्थान ल्याएका विष्ट अब चुनावी प्रक्रियाबाट बाहिरिने छन् । अब गच्छदार र लिम्बूबीच प्रतिस्पर्धा हुनेछ ।

फेरि चुनाव गर्ने विषयमा छलफल भईरहेको जानकारी दिंदै जिल्ला सचिव मोदराज घिमिरेले सोमबार वा मंगलबार गर्ने भन्ने निर्णय हुन सक्ने बताए । आइतबार कांग्रेस पदाधिकारी चयन गर्न भएको मतदानमा जम्मा ३ हजार ४ सय १२ मत खसेकोमा १४७ भएको थियो ।

मोरङको नेतृतवको लागि सभापतिमा लिम्बूलाई कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालको समर्थन छ । गच्छदार देउवा पक्षीय नेताहरुको साथ र समर्थनमा चुनावी मैदानमा उठेका छन् । विष्ट नेता कृष्णप्रसाद सिटौलाको समर्थनमा उठेका थिए ।

सोमबार, १३ मंसिर, २०७८, बिहानको ११:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर