काँग्रेस प्रदेश १ अधिवेशन : सभापतिमा त्रिपक्षीय भीडन्तको सम्भावना

सभापति देउवा पक्षबाट मोरङका अमृत अर्याल र ओखलढुंगाका रामहरि खतिवडा तथा संस्थापनइतर समूहबाट गुरूराज घिमिरेको चर्चा

विराटनगर । संघीयता कार्यान्वयनमा आएपछि पहिलोपटक प्रादेशिक समिति गठनको तयारीमा रहेको सत्तारुढ नेपाली काँग्रेसमा प्रदेश चुनावको सरगर्मी ह्वात्तै बढेको छ ।

कांग्रेसले पहिलोपटक सातै प्रदेशमा अधिवेशन गर्न लागेको छ । दुई सातापछि हुने प्रदेश अधिवेशनका लागि आकांक्षीहरू तयारीमा जुट्दै छन् । यहीक्रममा प्रदेश १ मा पनि आकांक्षीहरुको दौडधुप सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्ष र उनीइतर समूहबाट प्रदेश सभापति लगायत पदमा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश १ मा सहमति नभई चुनावी प्रतिस्पर्धा हुने सम्भावना छ ।

सभापति देउवाले आफ्नो समूहबाट प्रदेश अधिवेशन संयोजन गर्न ९ नेतालाई जिम्मेवारी दिएका छन् । कांग्रेसले मंसिर १६ र १७ गते सातै प्रदेशमा अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । प्रदेश नम्बर १ को विराटनगरमा कांग्रेसले प्रदेश अधिवेशन गर्दैछ । सभापति देउवा पक्षबाट मोरङका अमृत अर्याल र ओखलढुंगाका रामहरि खतिवडा प्रदेश सभापतिमा उठ्ने चर्चा छ । खतिवडा भने केन्द्रीय पदाधिकारीमै उठ्न चाहेको बताउँछन् ।

‘सभापतिसँग मेरो हिजो पनि कुरा भयो । सहमहामन्त्री थप गर्ने कुरा रहेछ । थप भयो भने म सहमहामन्त्री उठ्छु,’ खतिवडाले भने । ‘प्रदेश नम्बर–१ को सभापतिका लागि पनि साथीहरूबाट कुरा आएको छ, के हुन्छ टिमले निर्णय गर्ला,’ उनले थपे ।

विराटनगरका नेता अर्यालले भने अहिलेसम्म मुख खोलिसकेका छैनन् । उनले सभापति देउवा र टिमले भनेअनुसार आफूले निर्णय गर्ने पनि बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेललगायत संस्थापनइतर समूहबाट प्रदेश नम्बर १ को सभापतिमा केन्द्रीय सदस्य गुरूराज घिमिरे उठ्ने चर्चा छ । उनले प्रदेशको सभापति उठ्ने घोषणा गरिसकेका छन् ।

‘प्रदेश सभापतिका लागि साथीहरूले आग्रह गरिरहनुभएको छ,’ उनले भने, ‘सकेसम्म केन्द्रीय पदाधिकारीमै उठ्न कोशिश गर्दैछु, मैले मात्रभन्दा पनि टिमले नै निर्णय गर्छ ।’ प्रदेश नम्बर १ मा केन्द्रीय सदस्य शेखर कोइरालाको पनि राम्रो प्रभाव छ । उनीनिकट प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला पनि सभापतिका आकांक्षी छन् । सुनसरी जिल्ला सभापतिका रुपमा दुई कार्यकाल बिताइसकेका उनले प्रदेश सभापतिमा दाबी गरिरहेका छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पनि प्रदेश १ मा राम्रो प्रभाव छ । उनीनिकट रहेका झापाका सुधीरकुमार शिवाकोटी र उद्धव थापा पनि प्रदेश सभापति पदका आकांक्षी छन् । उनीहरु दुवै जना दुई–दुई कार्यकाल झापा सभापति भइसकेका नेता हुन् ।

काँग्रेस नेताहरुले अहिलेसम्म सहमतिको कुनै प्रयास नभएको बताएका छन् । ‘सहमतिमा सभापति चयन हुने अवस्था नआएमा सभापति देउवा, पौडेल–कोइराला र सिटौला पक्षबाट एकेक गरी तीन जनाबीच प्रतिस्पर्धा हुने सम्भावना छ’, काँग्रेसका एक नेताले भने ‘सकेसम्म सहमति गरौं भन्ने कुरा आउँछ । तर, सहमति हुने सम्भावना न्यून छ ।’ प्रत्येक जिल्लामा रहेका प्रदेश सभा क्षेत्रबाट आएका क्षेत्रीय प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू र सांसद पनि प्रदेश अधिवेशनका मतदाता हुन्छन्।

बिहिबार, ०२ मंसिर, २०७८, साँझको ०६:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर