विराटनगर । तीन पक्ष इमानदार भए सुशासन कायम भएर देश विकास र समृद्धितर्फ अगाडि बढ्ने विराटनगरमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् ।

उनीहरूले सरकारको नेतृत्व गर्ने राजनैतिक दल, ब्यूरोक्रेसी र उद्योगी, व्यवसायीहरू इमानदार भइदिए सुशासन कायम भएर विकास र समृद्धितर्फ अगाडी बढने बताएका हुन् ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरिएको दशौं राष्ट्रिय कर दिवसको उद्घाटन तथा कर सप्ताह शुभारम्भ समारोहमा बोल्दै उनीहरूले इमान्दरी भएर स्वच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन, विकास र समृद्धितर्फ अगाडि बढनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले करदाता र कर प्रशासनबीच द्धन्द्ध सृजना नगरेर इमान्दारी पुर्वक स्वेच्छिक कर सहभागितामा अभिवृद्धि गराएर सुशास कायम गराउनुपर्ने बताए । कार्यक्रममा नेपाल उद्योग परिषद प्रदेश १ का अध्यक्ष भिम घिमिरेले उद्योगी, व्यवसायीहरुको लागि करमैत्री बातवरण राज्यले सृजना गरिदिनुपर्नेमा जोड दिए । उनले उत्पादन मुलक उद्योगहरुलाई राज्यले सुविधा दिएर आत्मनिर्भरतर्फ अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा उद्योग संगठन मोरङका पारस लुनिया, मोरङ व्यापार संघको महासचिब अनिल साह, विराट व्यापार संघका अध्यक्ष सुजन थापालगायतले कर एकद्धारा प्रणाली लागु गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा आर्थिक वर्ष २०७६/०७७ का उत्कृष्ट करदाता सप्तकोशी डेप्लोपमेन्ट बैंकलाई सम्मान गरेको छ । यसैगरि उत्कृष्ट कर्मचारीमा आन्तरिक राजस्व कार्यालय विराटनगरका नायव सुब्बा डम्बर बिकलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरियो । सम्मानित हुनेहरूलाई मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख सुर्यप्रसाद पोखरेलले सम्मान गरे ।

करमा छुट

दशौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालयले एक महिनाभरी छुट दिएको छ । कार्यालयले आर्थिक ऐन, २०७८ ले प्रदान गरे अनुसारको छुट सुविधाहरु करदाताहरुलाई दिएको हो ।

कार्यालयले स्थायी लेखा नम्बर नलिइ व्यवसाय गरेको प्राकृतिक व्यक्तिले पछिल्ला ३ आर्थिक वर्षको करयोग्य आयमा लाग्ने कर यही फागुन मसान्तभित्र बुझाइ स्थायी लेखा नम्बर लिएमा सो मा लाग्ने शुल्क तथा ब्याज मिनहा हुनेछ । यस्तै हाल कार्यान्वयनमा रहेको कानुन बमोजिम २०७६ साल असार मसान्तसम्म कर निर्धारण भइ बक्यौता रहेको करदाताले निर्धारण भएको रकम र निवेदन दिएको मितिसम्मको ब्याज यही पुस मसान्तभित्र बुझाइएमा सोमा लागेको शुल्क थप दस्तुर र जरिवाना मिनाह हुनेछ ।