विराटनगर । नारी स्रष्टा समाज प्रदेश–१ ले साहित्यका विभिन्न विधामा योगदान पु¥याउने तीनजना स्रष्टालाई पुरस्कृत गरेको छ ।
बुधबार विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा पोखराका अग्रज साहित्यकार तथा कलाकार प्राज्ञ रमेश श्रेष्ठलाई ‘कविराज साहित्य सम्मान’ समर्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, अग्रज साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, आयोजक संस्थाकी अध्यक्ष ममता मृदुललगायतले दोसल्ला ओढाएर नगद ११ हजार राशिसहित सम्मानपत्र प्रदान गरेका थिए । श्रेष्ठ विगत चार दशकदेखि नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका छन् ।
त्यस्तै सोही अवसरमा ११ हजार नगद राशिको ‘मोहनलता स्रष्टा सम्मान’ आख्यानकार सुमन सौरभ र ११ हजार नै नगद राशिको ‘हेमलता स्रष्टा सम्मान’ लघुकथाकार दीपक लोहनीलाई समर्पण गरिएको छ । सौरभ र लोहनीलाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार भरत गुरागाईं, कवि लक्ष्मी पोखरेल, मञ्जुश्री गिरी, प्रिन्स प्रमोद ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।