लोड हुँदैछ...

मेनु

बुढीगंगामा अनियमितताको हद : पुल बनाउने बजेटविनै डिपिआरमा ३१ लाख खर्च

बुढीगंगामा अनियमितताको हद : पुल बनाउने बजेटविनै डिपिआरमा ३१ लाख खर्च

विराटनगर । संभाव्यता अध्ययनको नाममा स्थानीय तहहरुले सरकारी बजेटको व्यापक दुरुपयोग गर्ने गरेको पाइएको छ । स्थानीय तहसँग भएकै जनशक्तिबाट योजनाको सम्भाव्यता अध्ययन गर्नसक्ने प्रकृतिका साना योजनाहरु पनि परामर्शदातामार्फत अध्ययन गराउने प्रवृत्ति बढ्दै गएको पाइएको छ ।

मोरङको बुढीगंगा गाउँपालिकाले निर्माण सुनिश्चितता नै नभएको दुई साना कल्भर्ट निर्माणका लागि परामर्शदातामार्फत सम्भाव्यता अध्ययन गराइ लाखौं रकम भुक्ततानी दिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा बुढिगंगाले सुनसरी मोरङ सिंचाईं आयोजनाको चतरा नहरमा दुई वटा पुल निर्माण गर्नका लागि परामर्शदाता झिकाएर सम्भाव्यता अध्ययन शिर्षकमा ३१ लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी दिएको हो ।

गाउँपालिकाले अध्ययन गराएको दुवै कल्भर्ट अहिलेसम्म निर्माणको प्रक्रियामा गएको छैन । नहरमा पुल निर्माण गर्ने भनि गराएको अध्ययन प्रतिवेदनले नहरमाथि बन्ने दुई वटा कल्भर्टलाई पुल करार गरी झण्डै ७ करोड लागतको अनुमान गरेको देखिएको छ ।

त्यसै वर्ष गाउँपालिकाले विभिन्न योजनाहरुको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन दिन निजी परामर्शदातासँग १६ लाख रुपैयाँको योेजना सम्झौता गरेको थियो । सम्झौतामा चार वटा प्रतिवेदन दिने र प्रतिवेदन नेपाली र अंग्रेजी भाषमा हुने उल्लेख थियो । तर, परामर्शदाताले एक पटक, त्यसमा पनि नेपाली भाषामा मात्र प्रतिवेदन दिएर सम्झौता बमोजिमको रकम भुक्तानी लिएको थियो ।

गाउँपालिकालाई त्यो कार्यले १२ लाख ४० हजार ६७८ रुपैयाँ नोक्सानी भएको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ ।

सफ्टवेयर खरिदमा अनियमितता

बुढीगंगा गाउँपालिकाले सफ्टवेयर खरिद गर्दा ठूलो रकम अनियमितता गरेको पाइएको छ । महालेखाको पछिल्लो प्रतिवेदन अनुसार नियम विपरित सम्झौताभन्दा बढी रकम भुक्तानी गरिएको छ । गाउँपालिकाले सफ्टवेयर खरिद गर्दा अनियमितता भएको १५ लाख र सम्झौता बढी रकम भुक्तानी गरिएको करिब ४ लाख रुपैयाँ गरी १९ लाख रुपैया अनियमितता भएको भन्दै अशुल गर्नुपर्ने जनाएको छ ।

त्यस्तै नियम विपरित गाउँपालिकाले ४४ लाख रुपैयाँ बराबरको सामान सोझै खरिद गरेर अनियमितता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले निर्माण सामग्री खरिद गर्दा भुक्तानी दिएको कतिपय वस्तुको प्रमाण नै फेला नपरेको भन्दै लाखौं रुपैयाँ अनियमितता भएको महालेखाले ठहर गरेको छ ।

गाउँपालिकाले ह्युम पाइप खरिद वापत १९ लाख ४१ हजार रुपैयाँ भुक्तानी दिएको भएपनि ह्युम पाइप जडान भएको कुनै प्रमाण फेला नपरेको महालेखाले जनाएको छ । यस्तै झण्डै ४० लाख मूल्यको जस्तापाता गरिद गरेको पनि प्रमाण फेला नपरेको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाले कुनै प्रयोजनबिनै विभिन्न व्यक्तिहरुलाई करिव १० लाख रुपैयाँ भुक्तानी गरेको र त्यसको प्रयोजन नखुलेको भन्दै अनियमितता भएको महालेखाले जनाएको छ । गाउँपालिकाले ३७ जना पदाधिकारी र तीन जना कर्मचारीलाई कानून विपरित पर्यटन प्रवद्र्धन खर्च भनेर १४ लाख रुपैयाँ भुक्तानी गरेको पाइएको छ । पदाधिकारीलाई जनही ३६ हजार र कर्मचारीलाई जनही २५ हजारका दरले पर्यटन प्रवद्र्धन खर्च भुक्तानी गर्नु गलत भएको महालेखाले जनाएको छ ।

महालेखाले त्यसरी भुक्तानी गरेको रकम असुल गर्न पनि भनेको छ । गाउँपालिकाले वडाध्यक्षहरुलाई यातायातको दोहोरो सुविधा दिएको भन्दै रकम फिर्ता गर्न पनि महालेखाले निर्देशन दिएको छ । कानून बमोजिम यातायात खर्च लिने गरेका वडाध्यक्षहरुलाई मोटरसाइकल र इन्धन सुविधा दिएर अनियमितता गरेको भन्दै महालेखाले त्यसवापत ३ लाख ३६ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

यस्तै वडा कार्यालयले कर्मचारी करारमा राख्ने कुनै कानूनी व्यवस्था नभएपनि वडा नम्बर ७ ले सूचना प्रविधि कार्यका लागि भन्दै एक जना कर्मचारी करारमा नियुक्त गरी मासिक १९ हजारका दरले पारिश्रमिक भुक्तानी गर्दा २ लाख ४७ हजार रुपैयाँ अनियमितता भएको महालेखाले जनाएको छ । गाउँपालिकाले दरबन्दी बाहिरबाट २६ जना कर्मचारी नियुक्त गरेको र त्यसबाट लाखौं व्ययभार थपिएको भन्दै त्यस प्रकृतिबाट कर्मचारी नियुक्त गर्न नमिल्ने महालेखाले जनाएको छ ।

5 प्रतिक्रियाहरू

5 प्रतिक्रियाहरू

गुमनाम
November 16, 2021 9:48 PM

१. गाँउपालिका नजिक को २१ लाख को पार्किंग
२. वार्ड ७ कार्यालय नजिक को १५ लाख को बाँध
३. आफ्ना स्थाई अनमी कर्मचारी लाई SBA Training मा नपठाई पैसा लि बाहिरका मानिसहरु (Birat Mediacal College का स्टाफ नर्स) लाई २०७७ सालमा सरकारी कोष बाट पठाएको

बिष्णु भट्टराई
May 5, 2022 5:45 AM

उच्चस्तरीय छानबिन गरि यदि राज्य को समम्पती दुरुपयोग भयगरियको पाइयमा यस्ता कर्मचारी या प्रतिनिधि जो कोइ भय पनि कसैको केही न सुनी कारबाही गर्नु पर्छ।

Umesh Kumar sardar
November 17, 2021 11:27 AM

Doshi Lai karbahi garnu hos

Umesh Sardar
November 17, 2021 11:28 AM

Doshi Lai karbahi garnu hos

November 17, 2021 6:53 PM

Karbahilai daayarama lyaunu hos

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 0 seconds