विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत चाहिएको सूचना आइतबार प्रदेशसभामा दर्ता गराएका छन् ।
प्रदेशसभा नियमावली अनुसार मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिन चाहेको सूचना छलफल हुनुभन्दा दुई दिनअघि संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान छ । सोही अनुसार कात्तिक ३० अर्थात मंगलबार सदनबाट विश्वासको मत लिने तयारीका लागि आज संसद्मा सूचना पठाइएको मुख्यमन्त्रीका स्वकिय सचिव सन्दीप राईले जानकारी दिए ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो । पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।
विश्वासको मत लिएपछि मात्रै प्रदेशमा मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा सरकार रहेको छ । भागवण्डा मिलाउन मन्त्रालय फुटाउने तयारीमा सत्ता गठबन्धन लागेको छ । ‘विश्वासको मत लिएर मात्रै सरकार विस्तार गर्ने योजना छ,’ मुख्यमन्त्री राजेन्द्र राईले एकीकृत समाजवादीको बैठकमा शनिबार भनेका थिए, ‘मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए । त्यसैले मन्त्रालय फुटाउने तयारी छ ।’
पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्सीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मन्चका १ गरी ५० सांसद छन् ।
मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत आर्जन गर्ने अवस्था छ ।