संखुवासभा । सङ्खुवासभाको किमाथाङ्का नाका चाँडै खोल्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । प्रेस सेन्टर नेपाल संखुवासभाले बुधबार सदरमुकाम खाँदबारीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले किमाथाङ्का नाका सरकारले व्यवस्थित गरेर चाँडै खोल्ने बताए ।
मन्त्री शर्माले किमाथाङ्का नाकासम्म सडक निर्माणमा सरकारको पहिलो प्राथामिकतामा रहेको बताए । किमाथाङ्का नाका र अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै काम थाल्ने बताए । सुनसरीको चतरादेखि सङ्खुवासभाको किमाथाङ्कासँग अरुण करिडोरका काम सरकाले चाँडै सुरु गर्ने अर्थमन्त्री शर्माले बताए ।
सङ्खुवासभाका लागि महत्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उनले बताए । अरुण करिडोर आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको अर्थमन्त्रीले बताए । अर्थमन्त्री शर्माले पत्रकार सम्मेलनमा किमाथाङ्का नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्वका साथ हेरेको बताए ।
छिमेकी देश चीनसँग बाह्रै महिना नाका सञ्चालन हुने यस नाकासम्म पुग्ने सडक निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए । अर्थमन्त्री शर्माले पत्रकार सम्मेलनमा पाँच दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शङ्का नगर्न आग्रह गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराका बारेमा गठबन्धनको छलफलमार्फत् समाधान खोज्ने बताए ।
गठबन्धनको बैठकले साझा धारणा बनाउने मन्त्री शर्माले बताउनु भयो । सङ्खुवासभा जिल्लामा नेकपा माओवादी कार्यकर्तालाई प्रशिक्षण दिन मंगलबार आएका हुन् । मन्त्री शर्माले सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी व्यापारीसँग छलफलसमेत गरेका थिए ।