लोड हुँदैछ...

मेनु

सुकुमबासीलाई ६ महिनामा धनिपूर्जा दिन नसके राजीनामा दिन्छु : खड्का

सुकुमबासीलाई ६ महिनामा धनिपूर्जा दिन नसके राजीनामा दिन्छु : खड्का

विराटनगर । भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अबको ६ देखि सात महिनाभित्रमा सुकुमबासीहरुलाई धनिपूर्जा बाँड्न नसके भूमि आयोगबाट आफूले राजीनामा दिने बताएका छन् ।

नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी–६ बिहीबारे बजारमा आयोजना गरेको ‘भूमि समस्या तथा समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुकुमबासीहरुलाई धनीपूर्जा वितरण गर्ने ग्यारेन्टी नभएको खण्डमा राजीनामा दिने बताए । ‘यो सहिदहरुको रगतले पोतिएको धर्ति हो कानेपोखरी, तपाइँहरु सुकुमबासीहरुको अगाडि उभिएर भनेको छु, समस्या सावधान गर्न लागि पर्नेछु । अबको ६ देखि ७ महिनाभित्रमा तपाइँहरूलाई धनिपूर्जा वितरण गर्ने ग्यारेन्टी लिएको छु,’ उनले दाबीको साथ भने, ‘यस अवधिमा धनिपूर्जा वितरण भएन भने भूमि आयोगको गाडीमा यसरी घुम्ने छैन ।’ ३६ महिनामा सरकारमा रहँदा पनि केपी ओली नेतृत्वको पार्टीले धनिपूर्जा दिन आलटाल गरेको उनको भनाइ थियो । ‘यसअघि २२ पटकसम्म भूमि आयोग गठन भयो । तर काम भएन । किसान र भूमिको विषय बुझेका मान्छे थिएनन् । त्यो मात्र होइन ओलीले सुकुमबासीलाई धनिपूर्जा वितरण गर्ने इच्छाशक्ति पनि देखाएका थिएनन्,’ उनले भने, ‘प्रचण्डले मलाई सुकुमबासीले धनिपूर्जा वितरण नगरे मुखै हेर्दिन भन्नुभएको छ ।’

‘अहिलेसम्म बनेका आयोगले फर्म मात्र भर्ने मात्र काम गरे । केपी ओलीले पनि त्यही गरे,’ उनले भने, ‘अब हामी सुकुमबासीलाई धनीपूर्जा वितरण गर्नेछौं । त्यो पनि चुनावभन्दा अगाडि दिइन्छ । माघ मसान्तभित्रमा धनिपूर्जा सुकुमबासीलाई बाँडिन्छ ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेती सुशीलले अहिलेको गठबन्धनको सरकारले सुकुमबासीहरूको धनिपूर्जा वितरण गर्ने बताए । सुकुमबासीको भावना र समस्या बुझ्ने भएकोले अहिलेको वर्तमान सरकारले सुकुमबासीलाई धनिपूर्जा दिन पनि पहल कदमी गर्ने उनले बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिका सह–इन्चार्ज अर्जुन आचार्य, अम्बिका आर्याल, कांग्रेस कोनेपोखरी गाउँपालिकाका सचिव बिवेक लिम्बू, नेकपा एकीकृत समाजवादीका संयोजक भूमि दुलाललगायले बोलेका थिए । त्यस अवसरमा भूमिहीन सुकुमबासीहरुले पटकपटक कार्यक्रम गर्ने र पटकपटक प्रतिबद्धता गर्दै चुनाव जित्ने तर समस्या समाधान नगरेको भन्दै नेताहरुको आलोचना गरेका थिए ।

भूमि आयोगका उपाध्यक्षलाई ज्ञापनपत्र

नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाले भूमि आयोगलाई सुकुमबासीहरुलाई धनिपूर्जा वितरण तत्काल गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । पार्टीका इन्चार्ज अविनाश मण्डल, सह–इन्चार्ज अम्बिका आर्याल, भोजवीर माझी, डिल्लीप्रकाश राई, अर्जुन आचार्य, संयोजक मनोज राजवंशीलगायले भूमि आयोगका उपाध्यक्ष खड्कालाई ज्ञापनपत्र बुझाएका हुन् ।

कानेपोखरी गाउँपालिकाभित्र ४० वर्षदेखि बसोबास गर्दै आएका सुकुमबासीहरु रहेका छन् । तीन पुस्ता बितिसक्दा पनि हालसम्म धनिपूर्जा यहाँका सुकुम्बासीहरुले पाउन नसकेको भन्दै माओवादी पार्टीले तत्काल सुकुमबासीहरुलाई धनिपूर्जा दिन माग राख्दै ज्ञापन पत्र बुझाएको संयोजक राजवंशीले जानकारी दिए ।

कानेपोखरीमा भूमिहीन दलित ४ सय ३७ परिवार, भूमिहीन सुकुमबासी १ हजार ६ सय ३५, अव्यवस्थित २ हजार ५ सय २७ परिवार, अधुरो काम ३ सय ७३ परिवारसमेत गरि ४ हजार ९ सय ७२ परिवार भूमि सम्बन्धी समस्या भएका सुकुम्बासीहरु छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।