विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने वा राजीनामा गर्ने भन्ने विषयमा पार्टीका नेताहरुसँग परामर्श गरेका छन् । मुख्यमन्त्रीले आफ्नो निवासमा दलका नेताहरुसँग केहीबेर अघि परामर्श गरेका हुन् । छलफलमा प्रदेश सभा बैठक ‘फेस गर्ने’ वा राजीनामा गर्ने भन्ने विषयमा छलफल गरेको बताइएको छ ।

विश्वास मतको प्रस्तावमाथि मत विभाजन गर्ने अथवा राजिनामा मध्ये एक रोज्ने आचार्यको तयारी छ । बिहानको छलफलमा उनले जे गरेपनि प्रदेशसभा बैठकबाटै गर्ने बताएका छन् । ‘जे हुन्छ सदनमै गर्छु र त्यसकै तयारी गरेको छु’ छलफलमा उनले निष्कर्श सुनाउँदै भनेका थिए । आचार्यले सरकारको नेतृत्व लिएपछि आफूले गरेका कामको विवरण प्रदेश सभामा पेश गर्ने तयारी गरेका छन् ।

“सरकारको कार्यप्रगति विवरण पेस गर्छु त्यसपछि राजिनामा घोषणा गर्नु परे त्यहीं गर्छु”, आचार्यले छलफलमा भनेका छन् । उनी भदौ १० गते शेरधन राईले राजिनमा दिएपछि पहिले संसदीय दलको नेता र त्यसपछि मुख्यमन्त्री बनेका थिए । एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । आज विश्वासको मत लिने कार्यसूची छ ।

सरकारले यो अवधिमा प्रदेश खेलकुद बोर्ड गठन, प्रदेश राजधानीको स्थायी राजधानीका संरचना निर्माण गर्न जग्गा खोज कार्यदल गठन, मनमोहन प्राविधिक विश्व विद्यालयले प्रदान गर्ने छात्रवृत्तिको स्रोत सुनिश्चित गर्ने काम, प्रदेश सभाको विराटनगरस्थित नयाँ सभाहल उद्घाटन, धनकुटामा एक सय शैयाको अस्पताल उद्घाटनलगायत काम गरेको छ ।

विपक्षी गठनबन्धनले नेकपा (एस) का नेता राजेन्द राईलाई मुख्यमन्त्रीको रुपमा पस्ताव गर्ने निर्णय गरेका छन् । विपक्षी गठबन्धनसँग ५० सांसद छन् । वहुमतको लागि ४७ जना चाहिन्छ । विभाजन पछि एमाले सांसद संख्या ४१ भएको छ ।