विराटनगर महानगरपालिकाले अनौपचारिक क्षेत्रका मजदुरलाई क्षतिपूर्ति दिने

विराटनगर । विराटनगर महानगरपालिकाले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पञ्जीकरण गरेर उनीहरूलाई दुर्घटना वापतको क्षतिपूर्ति दिने भएको छ ।

सरकारले पञ्जीकरण नगर्दा शोषण खेप्दै आएका अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू विपद र महामारीको बेला झन् धेरै मारमा पर्ने गरेको छन् । आइतबार आयोजित एक कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले उनीहरुको पञ्जीकरण गराएर परिपचयपत्र प्रदान गरी दुर्घटनावापतको क्षतिपूर्ति दिने बताए ।

पराजुलीले समाजिक विकास महाशाखा प्रमुख पुनम दहाललाई निर्माण, पसल, होटल, ब्यूटीपार्लर आदि अनौचापरिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको पञ्जीकरण तुरुन्तै थाल्न निर्देशन पनि दिए । मेयर पराजुलीका अनुसार उनीहरुका लागि भलाई कोष निर्माण गर्ने, शीपको क्षमता अभिवृद्धि गर्न तालिम दिने र दुर्घटना विमा गराएर क्षतिपूर्ति दिने काम महानगरपालिकाले गर्नेछ ।

विराटनगर महानगरपालिकामा निर्माण क्षेत्रमा काम गर्ने, साना तथा मझौला व्यावसायमा खटिने र ज्यालामजदुरी गर्ने श्रमिकहरुको पञ्जीकरण नहुँदा उनीहरु चर्को श्रम शोषणमा पर्दै आएका छन् । साथै विपद र महामारीको बेला उनीहरू झन् धेरै मारमा पर्दै आएका छन् ।

सार्क टे«ड युनियनका महासचिव लक्ष्मण बस्नेतले देशमा कूल ग्राहस्थ उत्पादन बढाउने काम सबैभन्दा तल्लो कृषि र अनौपचारिक क्षेत्रबाटै भइरहेकोले उनीहरुको संरक्षण र सुरक्षा अब स्थानीय सरकारले नै थाल्नु पर्ने र त्यो विराटनगर महानगरपाकिाले पनि सुरु गर्नु प्रशंसनीय सुरुआत भएको बताए ।

सरकारले तोकेको न्यूनतम सुविधा पायो पाएन भनेर अनुगमन पनि नगरिदिने भएकोले साना र मझौला पसलमा काम गर्ने श्रमिक र दैनिक ज्याला मजदुरी गर्नेहरु समान्य अवस्थामा पनि मारमा पर्ने गरेका छन । उनीहरुलाई दिनभरि काम लगाएर पनि ६ देखि १० हजारभन्दा बढी तलब दिइँदैन । पारिश्रमिक बढाउन माग गर्यो भने साहुले सोझै कामबाट निकालिदिने गर्दछन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश १ का सहइन्चार्ज उपेन्द्र राय अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको स्थानीय पालिकामा पञ्जीकरण हुनुपर्छ भनेर आफूहरूले उठाउँदै आएको आवाजलाई विराटनगर महानगरपालिकाले कार्यान्वयन गर्न थालेकोमा खुसी लागेको बताए । उनले अन्य पालिकाहरुले पनि आफ्नो ठाउँका श्रमिकको पंन्जिकरण गर्न थाल्नुपर्नेमा जोड दिए । स्थानीय पालिकामार्फत पञ्जीकरण भएमा अनौपचारिक क्षेत्रका श्रमिकले पनि समाजिक सुरक्षा कोषमा सहभागी हुन पाउनेछन् ।

आइतबार, १४ कार्तिक, २०७८, दिउँसोको ०४:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर