सांग्रिला बैंकद्वारा समुदायलाई वित्तीय साक्षरता प्रदान

विराटनगर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १७ औं वार्षिक उत्सवको अवसरमा विराटनगर शाखाले कटहरी गाउँपालिकाको वडा नं. १, महेशपुरमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । समूदायका एक सय भन्दा बढी व्यक्तिहरुलाई बैकिङ साक्षरता प्रदान गरिएको हो ।

कार्यक्रममा फजुल खर्च रोकी बचत गर्ने बानी कसरी विकास गर्ने, बचतको लागि औपचारिक माध्यम नै किन रोज्ने, पारिवारिक बजेट बनाएर कसरी जीवन यापन सहज बनाउने आदि विषयमा जानकारी दिइएको थियो ।

वचत संकलन गरि ऋण परिचालन गर्नु मात्र नभई सही वित्तीय निर्णय गरी पैसाको सही प्रयोग गर्ने सीप, वित्तीय संस्थाहरुले दिने सेवा सुविधाहरुको सही प्रयोग गर्ने विधी तथा वित्तीय सेवा उपभोगको अधिकार तथा कर्तव्यको बारेमा जानकारी दिनका लागि बचत, ऋण, लगानी, विप्रेषण, आधुनिक बैंकिङ प्रणाली, वीमा तथा शेयर बजार र बैंकिङ पहुँच समेतका विषयमा नागरिकहरुलाई सुसुचित गराउनु पनि बैंकको दायीत्व भित्र पर्ने कुरा सहजीकरणका क्रममा बैंकका विराटनगर शाखा प्रबन्धक अर्जुन खतिवडाले बताए ।

सुकिलामुकिला कपडा लगाएर बैंकको बातानुकुलित बन्द कोठाभित्र बसेर सेवा दिनु मात्र बैंकिङ हैन, जनताको माझमा गएर वित्तीय साक्षरता प्रदान गर्नु र बैंकले गर्ने कामहरुको विषयमा समेत यसरी सुसुचित गराउनु अत्यन्तै अर्थपूर्ण भएको सहभागी लक्ष्मण राजवंशीले बताए । सुरुवातमै सहभागीहरुलाई मास्क वितरण गरी स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी कार्यक्रम सम्पन्न भएको थियो ।

हालसम्म १०० वटा शाखा संचालनमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा देशभर वित्तीय साक्षरता कार्यक्रमका अलावा रक्तदान, सरसफाई, स्वास्थ्य शिविर लगायतका दर्जनौ सामाजिक कृयाकलापहरु सम्पन्न गरेको छ ।

आइतबार, १४ कार्तिक, २०७८, दिउँसोको ०३:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर