लोड हुँदैछ...

मेनु

बीउ जोगाउन शीतभण्डारमा राखेको आलु कुहिएपछि चिन्ता

बीउ जोगाउन शीतभण्डारमा राखेको आलु कुहिएपछि चिन्ता

विराटनगर । बीउका लागि जोहो गरेर सुरक्षाका लागि शीतभण्डारमा राखेको आलु रोप्ने बेलामा कुहिएपछि किसानहरु चिन्तामा परेका छन् ।

कानेपोखरीका किसानहरुले चैत महिनामा खरिद गरेर स्थानीय मातृभूमि सहकारी संस्था मार्फत झापाको दमकमा रहेको शान्ती कोल्ड स्टोरमा राखेको आलु अहिले रोप्ने बेलामा कुहिएको हो । आलु कुहिएपछि सहकारी र किसान दुवै पक्ष समस्यामा परेको सहकारीका अध्यक्ष हिमप्रसाद तिम्सिनाले बताए ।

सहकारी संस्थाका किसानको २४१ बोरा र विभिन्न ठाउँबाट संकलन गरि राखेको १३ सय बोरा आलु कुहिएको अध्यक्ष तिम्सिनाले जानकारी दिए । त्यस शीतभण्डारमा दश वर्षअघि देखि आलु भण्डारण गर्दै आएका किसानहरुले पहिलो पटक यस्तो समस्या भोग्नु परेको बताएका छन् ।

किसानहरुले प्रतिबोरा ४७५ रुपैयाँ तिरेर शीतभण्डारमा बीउ आलु राखेका थिए । आलु रोप्न जमीन तयार गरेर किसानहरुले आलु ढुवानी गरेर ल्याएको र बोरा खोलेर हेर्दा अधिकांश आलु कुहिएको पाइएको थियो । आलुका बोराहरु फाटेका र धेरैजसो कुहिएको पाइएपछि किसानहरुलाई आलुको बीउ खोज्नु पर्ने नयाँ समस्या आइपरेको छ ।

एक साताअघि आएको अविरल वर्षाले धानबालीमा भएको क्षतिको पीडा बिर्सन नपाउँदै आलुको नयाँ समस्या थपिएको हो । यतिबेला आलुको बीउ प्रतिकिलो ६० देखि ७० रुपैयाँमा किन्नु पर्ने अवस्था रहेको स्थानीय देवीभक्त भट्टराईले बताए । उनले किसानलाई सहकारी, शीतभण्डार वा सरकार कसले क्षतिपूर्ति दिने भन्ने प्रश्न अगाडि आएको बताए ।

स्थानीय मातृभूमि कृषि सहकारी संस्था लि.को स्थापना नै किसानको बीउ आलु भण्डार गर्ने उद्देश्यले भएको थियो । २०५२ सालमा तत्कालीन बयरवन ९ र ८ का किसानले आलु समूह गठन गरेर गाउँका किसानको आलु विराटनगर लगेर राख्ने गरेका थिए । त्यही आलु समूह कृषि सहकारीमा रुपान्तरण भएपछि हालको गाउँपालिकाभरिका किसानको आलु सहकारीकोे समन्वयमा भण्डारण हुँदैआएको छ ।

५० केजीका आलुका बोरामा २५ केजी आलु उमार शक्ति भएको भेटिन्न । कानेपोखरी–७ का किसान पदमप्रसाद कोइरालाले भने ‘संस्थामार्फत राखेको आलुको क्षतिपुर्तिका लागि सहकारीले पहल गर्नुपर्छ । हामी किसान सहयोग गर्न तयार छौं ।’

उता दमकस्थित शान्ति शीत भण्डारका ब्यवस्थापक खेम काफ्लेले शीत भण्डारको २० प्रतिशत आलु बिग्रिएको स्वीकार गरे । उनले २ हजार क्विन्टल आलु भण्डारण गरेकोमा ४ सय क्वीन्टल आलु कुहिएको जानकारी दिए । कात्तिक पहिलो साता आएको वर्षा र बाढीले नियमित रुपमा केही दिन विद्युत आपूर्ति बन्द भएका कारण आलु कुहिएको किसानहरुको आरोप छ तर उनले विद्युत आपूर्ति नरोकिएको जिकीर गरे । कृषि ज्ञान केन्द्र र आलु विज्ञसँग परामर्श गरेर समस्याको समाधान खोज्ने प्रयत्न भइरहेको काफ्लेले बताए । उनले किसानहरुलाई क्षतिको ५० प्रतिशत क्षतिपूर्ति दिने गरी कुराकानी भइरहेको भन्दै व्यापार मात्र नभएर उत्तरदायित्व बहन गर्ने जिम्मेवारीबाट आफू नपन्छिने बताए ।

– गोरखापत्र अनलाइनबाट साभार

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds