विराटनगर । प्रदेश १ सरकारले प्रदेशका १८ जना स्रष्टालाई सम्मान गर्न सिफारिस गरिएका नामावलीलाई औपचारिक रुपमा सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै वितरण गर्नुपर्ने पुरस्कार वितरण गर्न सकेको थिएन । अघिल्लो आर्थिक वर्षको अन्त्यमा सूचना जारी गरी सामाजिक विकास मन्त्रालयले आवेदनको माग गरेको थियो । मन्त्रालयले परेका आवेदनमध्ये १८ जनालाई छनोट गर्नका लागि खेम नेपालीको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले सिफारिस गरेअनुसारकै नाम सार्वजनिक गरेको हो ।
प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत वितरण गर्न लागेको ‘बालकृष्ण पोखरेल भाषा साहित्य कला सम्मान २०७८’बाट विराटनगरका साहित्यकार बलराम पोखरेललाई सम्मानित गर्ने भएको छ । पोखरेललाई १ लाख रुपैयाँ राशीसहित सम्मान गर्न लागिएको हो ।
यस्तै ५० हजार राशीको प्रदेश भाषा साहित्य कला प्रतिभा सम्मानबाट लक्ष्मण नेवटीया (मोरङ), डमरुबल्लभ भण्डारी (सुनसरी), राम दियाली (इलाम), सरस्वती दुमी राई (पाँचथर), नविन राई (खोटाङ), माधव कल्पित (झापा), शंकर खरेल (मोरङ), प्रेम सुब्बा (सुनसरी), टीका चाम्लिङ (खोटाङ), भानुभक्त कुभिण्डेली (झापा), सत्यकला राई (खोटाङ) र मञ्जुश्री गिरी (मोरङ) सम्मानित हुने भएका छन् ।
यस्तै २५ हजार राशीको नवोदित भाषा साहित्य कला प्रतिभा पुरस्कार २०७८ बाट सञ्जिव धिमाल (मोरङ), रामभजन कामत (मोरङ), खगिन्द्रा निरौला ‘खुसी’ (झापा), कविता राई (भोजपुर) र सुरेश पोर्तेल (इलाम) पुरस्कृत हुने भएका छन् ।
प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद महाशाखाले गत असार १३ गते एक सूचना प्रकाशित गरी असार २१ गतेसम्ममा आवेदनको माग गरेको थियो । भानुजयन्तीको अवसर पारेर असार २९ गते वितरण हुने यि पुरस्कारहरु यस पटक भने कोभिड–१९ का कारण पछि सरेको हो । अघिल्ला २ वर्षभने सोही दिन पुरस्कार वितरण भएको थियो ।





1 प्रतिक्रिया
1 प्रतिक्रिया
प्रदेश १ सरकारले खास खास व्यक्तित्वको पहिचान गरेकोमा खुशी लागो।
सम्मानित हुनुहुने सम्पुर्ण स्रस्टाज्युहरु प्रती बधाई तथा शुभकामना !
प्रतिक्रियाहरू बन्द छन्।