विराटनगर । हाम्रोमत दैनिकका स्तम्भकार तथा ४० वर्षदेखि नाटकको निर्देशन, प्रदर्शन र साहित्यको क्षेत्रमा काम गर्दै आएका स्रष्टा भरत गुरागाई ‘बर्बरिक’लाई सम्मान गरिने भएको छ ।
मोरङको सुन्दरहरैंचा साइकल राइडर्सले भव्य गजल महाफिल दोस्रो श्रृंखलाकै क्रममा शुक्रबार (कार्तिक १२ गते) स्रष्टा बर्बरिकलाई सम्मान गर्ने भएको हो । बर्बरिकले प्रकाशित नाटक पर्खाल, पासवर्ड, घरभित्रको अर्को घर र देश हराएको छ को निर्देशन गरेका छन् । २०२४ सालमा जन्मिएका बर्बरिकले ५४ वटा नाटक लेखेका छन् भने उनका ६ वटा कृति प्रकाशित छन् । ४ वटा कृति प्रकाशनको तयारीमा रहेको उनी बताउँछन् । उनका प्रकाशित कविता संग्रह रात र युद्ध, खोज्दै जीवन नामक कृति चर्चित हुन् । नेपाल, भारत र बंगलादेशमा गरी पाँच हजार पटकभन्दा बढी नाटकमा अभिनय गरिसकेका बर्बरिकले हाल झोराहाट नाट्य समूहको नेतृत्व गरिरहेका छन् ।
सम्मान गर्ने आयोजक साइकल राइडर्सले भने स्वास्थ्य, कला र एकताको नारा दिएर साहित्य, सिर्जनाको क्षेत्रमा विभिन्न कार्य गर्दै आएको छ ।
सो अवसरमा साहित्यकारहरू छवि बैरागी घिमिरे, आँचलकुमार शर्मा र इश्वर दाहालले गजल प्रस्तुत गर्नेछन् भने यादव भट्टराई र रमेश न्यौपानेले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् ।