दर्ता बिनै चस्मा पसलमा औषधि विक्री !

विभागबाट स्वीकृत नलिकन मनलाग्दी तरिकाले पसल संचालन गरेर औषधीको बिक्री वितरण गर्नेलाई औषधी ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढ्ने

विराटनगर । विरामीले सेवन गर्ने औषधी दर्ता बेगर विराटनगरको एक चस्मा पसलले बिक्री वितरण गरेको भेटिएपछि कारवाही गरिएको छ ।

विराटनगर आँखा अस्पताल अगाडि विराटनगर–१३ मा रहेको गुगल चस्मा घरका संचालक विकास साहले अनुमति लिएको भन्दा बाहिर गएर औषधी बिक्री वितरण गरेको भेटिएपछि औषधी व्यवस्था विभाग विराटनगरले पसल शिलबन्दी गरेको हो ।

उक्त चस्मा घरले अनुमति बेगर बिक्री वितरणमा राखिएको औषधी पनि विभागले बरामद गरेको औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिए । ‘अनुमति नलिकन चस्मा पसलले औषधी विक्री वितरण गरेको सूचना आएको थियो,’ उनले भने, ‘अनुगमनको क्रममा चस्मा पसलले औषधी भेटियो । यसरी औषधी व्यवस्था विभागको स्वीकृती बेगर औषधी बिक्री वितरणमा प्रतिबन्ध छ ।’ विभागबाट स्वीकृत नलिकन मनलाग्दी तरिकाले पसल संचालन गरेर औषधीको बिक्री वितरण गर्नेलाई औषधी ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

यसअघि औषधी पसल खोलेपनि विभागदेखि स्वीकृत नकिलन तराइको र पहाडी जिल्लाका फार्मेसीहरूले औषधी विक्री वितरण गर्ने गरेका थिए । तर, पछिल्लो समय चस्मा पसलहरूले पनि खुलेआम औषधी बिक्री वितरण गर्न थालेपछि अनुगमनलाई तीव्रता दिएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको तीन महिना असोजसम्ममा दर्ता नभएका १८ वटा फार्मेसीलाई औषधी व्यवस्था विभाग विराटनगरले कारवाही गरेको छ ।

अनुगमनको क्रममा दर्ता बेगार फार्मेसी संचालन गरेको पाइएपछि साउनदेखि असोजसम्मा सो संख्यामा कारवाही गरिएको हो । अनुगमनको क्रममा व्यवसायी (फर्माशिष्ट) अनुपस्थित भएका ४३ फार्मेसीलाई कारवाही गरिएको छ । यस्तै विभागमा दर्ता नभएका औषधी बिक्री वितरण गर्ने ६ फार्मेसीलाई पनि कारवाहीको दायरामा ल्याएको विभागले जनाएको छ ।

सोमबार, ०८ कार्तिक, २०७८, साँझको ०५:४७ बजे

प्रतिक्रिया

  1. Province no 2 सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकाको वार्ड नं 13 काे महारानी bazzarma dheraii pharmacy ra clinic haru दर्ता vako xain एकचोटि यता nii सेवा dinu होला

प्रतिक्रिया:

सम्बन्धित खवर