बाढी र डुबानको असर : ठूलालाई खानाको, सानालाई किताबको !

विराटनगर । पारिलो घाम । सडकै भरी अन्न र किताबका विस्कुन । मङ्गलबारको अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा अन्नसँगै भिजेका किताब सुकाउँदै गर्दा भेटिइन् राधिका सदा । इटहरी उपमहानगरपालिकामा रहेको जनता मा.वि.को कक्षा ४ मा पढ्ने राधिकाको घरसँगै किताब डुब्यो ।

‘कति बाढीले बगायो, कति यतै खोज्दै घाममा सुकाउँदै छु,’ उनले मुस्कुराउदै भनिन् । किताब घाममा फिजाउँदै उनी थप्छिन्, ‘सबै पढ्न नहुने गरी भिजेको छ ।’ राधिकाको जस्तै अनिसा सदाको पनि किताब भिजेर पढ्नै नहुने भएको छ । उनको सबै किताब मध्ये कति त पढ्नै नमिल्ने गरी च्यातिएका छन् । घाम लागेसँगै किताब सुके पढ्न मिल्छकि भन्ने आशाले सडकमा किताबको बिस्कुन फिँजाएकी छिन् । पढ्नै नमिल्ने भएका किताबबाट के गरी पढ्ने भन्ने चिन्ताले पिरोलेको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘नच्यातिएको किताब त सुकाएर पढ्न मिल्छ तर च्यातिएका किताब अब कसरी पढ्ने होला ? ।’ उनलाई भर्खरै मात्रै स्कुलले नयाँ किताब उपलब्ध गराएको थियो । अब फेरी विद्यालयले पुस्तक दिन्छ या दिँदैन भन्नेमा उनीहरु चिन्तित छन् ।

अन्न पानीले भिज्यो अब के खाने ?

इटहरी उपमहानगरपालिकाको मूल चोकदेखि करिब ३ किलोमिटर दक्षिण पश्चिममा मुसहर बस्ती छ । करिब ८० परिवार मुसहर समुदायका छन् । मङ्गलबारको अविरल वर्षाका कारण आएको बाढीले मुसहर वस्तीसँगै अन्य वस्तीमा रहेका अधिकांशको घर डुबानमा प¥यो ।

उनीहरुले एक्कासीको बाढीले जोहो गरेर राखिएको अन्न केही निकाल्न पाएनन् । ‘चाँड पर्व सकिएकै थिएन, पाहुना आउलान भनेर राखेको अन्न निकाल्न पनि पाइएन,’ स्थानीय निसा सादले भनिन् । साँझदेखि निरन्तर पानी परेकाले अन्न जोगाउनभन्दा पनि ज्यान जोगाउन तिर धेरै ध्यान भएकाले आफू र नानीहरु बाहेक केही निकाल्न नपाएको सोही स्थानकी आशा सदाले सुनाइन् । उनी भन्छिन्, ‘आफ्नो छोराछोरी र ज्यानभन्दा ठूलो के होला र ? केही निकाल्न पाइएन मात्रै आफु र बच्चा बाहेक ।’

के भन्छन् जनप्रतिनिधि ?

बाढी प्रभावित परिवार तथा विद्यार्थीका लागि पुस्तक र रहतको व्यवस्थापन गर्ने इटहरी उपमहानगरपालिका– ८ का वडाध्यक्ष रोहितकुमार चौधरीले बताए ।

राहत सामाग्रीका लागि लागत संकलन हुँदै गरेको समेत उनले जानकारी दिए । चौधरीले भने, ‘एक दुई दिनमा खाद्यान्नको व्यवस्थापन गर्न लागेका छौ, किताबको विषयमा पनि स्कुलसँग कुरा भइसकेको छ ।’

शुक्रबार, ०५ कार्तिक, २०७८, रातीको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर