विराटनगर । अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा शनिबारबाट सुचारू हुने भएको छ। लगातारको वर्षापछि आएको बाढी मंगलबार विमानस्थलमा पसेपछि उडान अबरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग, पार्किङ एरिया जलमग्न भएपछि मङ्गलबारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका थिए।
विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार शनिबार बिहान ७ बजेबाट उडान सुचारु हुनेछ । विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकोले विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुने कार्यालयले जनाएको छ। विमानस्थलको सबै उपकरण चेकजाँचपछि मात्र साँझपछिको उडान सुचारु हुने नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख उत्सब खरेलले बताए ।
मौसम सफा हुँदै गएको तथा विमानस्थलको पानी सुक्दै गएकाले शनिबारदेखि नियमित उडान सुरू हुने विमान कम्पनीहरुले बताएका छन् । उनीहरुले शनिबारको उडानको लागि टिकट बुकिङ गरिरहेका छन् ।
विराटनगर विमानस्थलमा बुद्ध एयरले दैनिक ९ वटा र यति एयरले दैनिक ५ वटा उडान गर्दै आएको छ । यस्तै सौर्य एयर र श्री एयरलाइन्सले ४–४ र गुण एयरले एक उडान गर्दै आएका छन् ।
विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि विमान कम्पनीहरूले विराटनगरको विकल्पमा भद्रपुरबाट र राजविराजमा उडान थपेर सेवा दिइरहेका छन् । विमानस्थल डुबानमा परेपछि रोकिएका श्री र बुद्ध एयरका विमान भने बिहीबार साँझ यात्रुविनै काठमाडौं लगिएको छ ।