बिमा दाबी रकम भुक्तानी छिटो गर्न उद्योग परिसंघको माग

विराटनगर । उद्योग परिसंघ प्रदेश १ ले बिमा दाबी रकम भुक्तानी छिटो गर्न माग गरेको छ ।

विश्वभरि फैलिएको महामारीका कारण जटिल परिस्थितिमा पनि प्राकृतिक विपतको सामना गरेका उद्योग व्यवसायको बिमा दाबी रकम भुक्तानीमा ढिलासुस्ती भएको परिसंघको दाबी छ । परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेद्वारा बिमा समितिलाई पत्राचार गर्दै बिमा रकम चाँडो भुक्तानीका लागि माग गरेका हुन् ।

‘आफ्नो लगानी तथा उद्योग परिसर तथा कारोबारमा प्राकृतिक प्रकोप बाढी तथा अन्य यस्तै भवितव्य हुन गर्इ कुनै कारणबस क्षति हुन गएमा त्यसको क्षतिपूर्ति हेतु बिमा गराएको हुन्छन् र त्यसको समयमै क्षतिको भुक्तानी पाउनु पर्ने बिमितको आधिकार हो,’ पत्रमा उल्लेख छ, ‘यस प्रदेश अन्तर्गत रहेर कारोबार गरिरहेका कृषि, निर्माण व्यवसाय, मेडिकल कलेज, उर्जाका उद्योगहरू हाइड्रो उद्योगीहरूले आफ्नो उद्योगसँग सम्बन्धित गरिएका प्रसस्त बिमाका दाबीहरु सबै प्रक्रिया पुरा भएता पनि भुक्तानी पाउन नसकिरहेको तथ्यतर्फ यहाँको ध्यानाकर्षण गर्न चाहन्छु ।’

काबु बाहिरको बाढी तथा यस्तै प्राकृतिक प्रकोपजन्य कारणले भएका क्षतिमा विशेष ध्यान दिएर छिटो र फास्ट ट्र्याकबाट क्षतिपूर्ति भराइदिन पनि परिसंघले माग गरेको छ ।

‘बिमा दाबी भुक्तानी प्रक्रियालाई छिटो छरितो पारदर्शी तथा व्यवस्थित बनाइ बिमितको हक सुरक्षित गर्न बिमा ऐन तथा नियमावली र निर्देशन समेत अनुसार कुनै पनि बाहानामा बिमितलार्इ कष्ट र थप हानप् हुन नदिने प्रतिबद्धता विपरीत बिमित उल्टै प्राताडित भइ रहेकोले बिमा गराउँदा जसरी प्रत्येक कार्यालय उद्योग परिसर घर–घर समेतमा गइ बिमा संकलन र व्यवसाय वृद्धि गर्ने गरिन्छ त्यसको क्षतिपूर्तिको लागि पनि कुनै बाहाना नगरी त्यतिकै तत्परताका साथ सरकारले नै जारी गरि राखेको बिमा दाबी भुक्तानी मार्गदर्शन अनुसार पेश भएका बिमा दाबी तुरुन्त भुक्तानी गर्न सबै बिमा कम्पनीहरुलाई निर्देशन गरि दिनु हुन् हार्दिक अनुरोध गर्दछौं,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

बिहिबार, ०४ कार्तिक, २०७८, साँझको ०६:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर