विराटनगर । अविरल वर्षाले लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ।
लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा करिव ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईले बताइन्। मंगलबार दिउँसो ४ बजेतिर पानीको वहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भइ कोशी राजमार्गमा सडकमा पसेको थियो ।
उनका अनुसार क्षति भएको सडकसम्म जाने स्थिति नै छैन। खोला उर्लिएको छ। बालुवा तथा माटो सहितको बाढी आइरहेको छ। बाटो बगाएपछि सडक पुरै अवरुद्ध छ। धरानदेखि आएका र धनकुटाबाट गएका सयौं गाडी बाटोमा नै रोकिएका छन्। यात्रुहरु अलपत्र परेका छन्। पानीको वहाव बढेको कारण सडक अझै क्षति हुने सम्भावना रहेको उनले बताइन्।
तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति छैन। जसको कारण चाडै सडक खुल्ने सम्भावना छैन। अविरल रुपमा पानी परिरहेको कारण राजमार्गका वरपरि पहिरोको सम्भावना बढेको छ। बाढीले सडक बगाएको क्षेत्रमा कुनै बस्ती रहेको छैन। बाटो बगाएदेखि तीन मिटर वर फेदी खोलामा पुल रहेको छ। त्यहाँ केही होटल र स्थानीयको घर रहेको छ।
जिल्ला सदरमुकामदेखि सुरक्षाकर्मीको टोली बाटो बगाएको स्थानमा पुगेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले कोशी राजमार्गको विभिन्न ठाउँमा पहिरो गइरहेको बताए। सदरमुकाम मास्तिरको सल्लेरीमा रुख ढल्दा बाटो अवरुद्ध बनेको छ। त्यहाँ सुरक्षाकर्मी र स्थानीयले रुख पन्छाएका छन्। उनले भने, ‘ठाउँठाउँमा रुख ढलेका छन्। ढलेका रुख पन्छाउने काम भइरहेको छ। लगातार पानी परिरहेकोले थप क्षति हुने सम्भावना छ।’
– अन्नपूर्ण पोष्टबाट फोटो तथा समाचार साभार