धेरै गर्भहरुको हत्या गरेपछि
एउटा पुलिङ्ग मानवको
आगमन भएको दिन पनि
दसैं आएको थियो उसको घरमा
र, त्यसैदिन
निर्मला पन्तको चित्कार गुञ्जियो
सारा गाउँ सहर भरी …
सुख संमृद्धिको मिठो वाचा बाँधेपछि उसले
भरोसाको मनग्य मत दिए उनीहरुले
अबिरमालामा लपेटिएर गाउँ परिक्रमा गरेको दिन
विजयादशमी आएको थियो उसको घरमा
र, त्यसै दिन भीषण बाढी पस्यो गाउँमा
बस्तीको सयौं घरबारहरु अलप भए बाढीसँगै
र, चुनावी घोषणापत्रहरु पनि उनीहरुसँगै अलप भए
वर्षौंदेखि गरीब सुकुम्बासीहरुसँगै
लड्दै आइरहेको साहसिक योद्धा
सुकुम्बासी आयोगको प्रमुख भएर
शपथ खाएको त्यो दिन पनि
ठूलो दसैंको उत्पात रौनक आएको थियो त्यो घरमा
र, त्यसै दिन बगरमा आश्रय लिएर बसेका गरीबका झुपडीहरु माथि
ठूल्ठूला बुल्डोजरहरुले निर्वाध आफ्नो ताण्डब नृत्य देखाइरहे…
स्कुलमा नसिहत पाइरहने
‘प्यारेन्ट्स रिक्वेस्ट’मा क्लास चढाउनु पर्ने छोरी
डाक्टर भएर आएको त्यो दिन
हर्कबढाइ भयो बडा दसैं झैं
र, साहुको छोरो डाक्टर पढ्न
सुटबुटमा बाटो लागेकै दिन
हर्कबहादुरको छोराले आफूले नाम निकालेर
पाएको स्कलरसीप बेच्यो केही दाममा
साउदी अरब जाने खर्च जुटाउन….
भारी झोला बोकेर लुसुक्क माथिका मान्छे
भेट्न गइरहने एक स्वच्छ छवी (?)को
सरकारी राष्ट्र सेवकले
सरकारकै प्रमुख पदमा नियुक्ति पायो
अनि गड्गडाउदै उसको घरमा दसैं आफैं आयो
र, रिटायर्ड हुन लागेको अर्को राष्ट्र सेवकले
आफ्नो तलब बुझ्यो
र, महिनाभरीको घर खर्च गम्यो
अहँ ! हिसाब त कसै गरी मिल्दै मिलेन
र, आफ्नो आँखाको आशु दवायो …..
हो, वर्षमा एकपटक मात्र आउने एउटा दसैं
रामविलासको परिवारले गज्जबले मनायो
सप्पैले नयाँ लुगा लगाए
टन्न मासुभात खाए, नाँचे, गाए, अनि रमाए ।
र, अर्को दसैं अगावै
उसको अलिकति घरबारी
साहुको नाममा नामसारी भयो ……….।