आज दशैंको आठौं दिनः महाअष्टमी पर्व मनाईँदै

विराटनगर । बडादसैँको आठौँ दिन आज माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ ।

आजको दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।

यो दिन दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका दुर्गा मन्दिरहरूमा बलि चढाउने र पूजा आराधना गर्नेहरूको बिहानदेखि घुइँचो लाग्ने गर्छ । यसदिन मन्दिरहरूमा शक्तिरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।

आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिन्छ । साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।

पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।

आजको दिन महाकालीस्वरुपा भद्रकालीको विशेष पूजा गर्ने गरिएको छ । प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ बिथोल्ने उद्देश्यले भद्रकाली करोडौं योनी–शक्तिका साथ आजकै दिन प्रकट भएको विश्वास छ । १६ वटा पूजा सामग्रीका साथ भद्रकालीको पूजाआराधना गर्छन्, भक्तजनले ।

शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्रीलगायत नवदुर्गाका स्वरुपहरुको पूजा गर्ने गरिन्छ । पूजा सकिएपछि बोका, कुखुरा, हाँस, खसी, राँगो आदिको बलि दिइन्छ । महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मान्ने गरिएको छ ।

बुधबार, २७ असोज, २०७८, बिहानको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर