पूर्व विद्यार्थीले जोडिदिए धारा

बेलबारी । काली माध्यमिक विद्यालय बेलबारी ९ मा पूर्व विद्यार्थीहरुले शुद्द खानेपानीको लागि खानेपानी शुद्धिकरण मेसिनसहितको धारा जडान गरेका छन् ।

६ लाख ६९ हजार ४ सय रुपैयाँको लागतमा खानेपानीको ट्यांकी (प्योर वाटर ट्रिटमेन्ट प्लान्ट) निर्माण गरि आज विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालयमा शुद्ध खानेपानीको अभाव भएको विद्यालयका प्रधानाध्यापक नारायण कोइरालाले जानकारी दिएपछि पूर्व विद्यार्थीहरुले रकम संकलन गरेर ट्यांकी निर्माण गरिएको पूर्व विद्यार्थी मञ्चका सचिव झलक खत्रीले बताए ।

एक हजार जना विद्यार्थीलाई उपभोग गर्न पुग्ने क्षमताको खानेपानीको प्लान्ट निर्माण गरिएको उनले बताए । विद्यार्थीहरुको स्वास्थ्य प्रति ध्यान दिँदै पूर्व विद्यार्थीहरुले शुद्ध खानेपानीको प्लान्ट निर्माण गरेकोमा विद्यालयका प्रधानाध्यापक नारायण कोइरालाले धन्यवाद व्यक्त गरे ।

शुभकामना आदानप्रदान र खानेपानी योजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै बेलबारी ९ का वडाध्यक्ष नगेन्द्र खड्काले विद्यालयमा भौतिक पूर्वाधारको विकास निरन्तर भइरहेको बताए । उनले भौतिक पूर्वाधारसँगसँगै पठनपाठनको गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए । अहिले विद्यालयमा शिक्षाको गुणस्तरप्रति अभिभावकहरुको गुनासो आइरहेको भन्दै उनले त्यसतर्फ ध्यान दिन सचेत गराए । कार्यक्रममा बोल्दै पूर्व विद्यार्थी मञ्चका अध्यक्ष गोविन्द गिरीले पूर्वविद्यार्थीहरुले विद्यालयको विकास र उन्ननयनका लागि सधै साथ दिने बताए । उनले आगामी दिनमा पनि विद्यालयको प्रथमिकताका आधारमा विभिन्न क्षेत्रमा सहयोग गर्ने बताए । कार्यक्रममा विद्यालयका पूर्व शिक्षक, पूर्वप्रधानाध्यापक, पूर्वव्यवस्थापन समितिका पदाधिकारी लगायतकाको सहभागिता थियो ।

मङ्गलबार, २६ असोज, २०७८, साँझको ०६:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर