विराटनगर । सप्तरी जिल्लाको राजबिराजमा २५ वर्ष अगाडि रहरले सानो कोठामा चलेको ब्युटी पार्लरमा आधारभूत तालिम लिएर ब्युटिसियन बन्ने सपना बुनेकी जुली प्याकुरेल अहिले विराटनगरकी सफल व्युटिसियनको रुपमा परिचित छन् । निरन्तरको मिहेनत, अध्ययन र समय अनुसारको प्रविधिसँग अपग्रेड हुँदै व्यवसाय सञ्चालन गर्ने शैलीले उनी पेशामा सफल बन्दै गएकी छन् ।
राजबिराजमा आधारभूत तालिम लिएपछि सन्तुष्ट नभएपछि प्याकुरेलले काठमाण्डौमा गएर ब्युटिपार्लर सम्बन्धी स्पेशल कोर्ष गरिन् । त्यतिले पनि उनको भोक मेटिएन । अझै धेरै सिक्ने चाहनाले उनलाई भारतको दिल्ली पु¥यायो । भारतको दिल्लीमा आवर्स एकेडेमी जुन त्यहाँको चर्चित र नाम चलेको पार्लर एकेडेमी थियो Alps academy & Alps beauty parlour & clinic । त्यसै एकेडेमीबाट प्याकुरेलले १५ वर्ष अगाडि डिप्लोमा कोर्ष पुरा गरिन् । डिप्लोमा कोर्ष सकेर उनी विराटनगर आउनासाथ उनले Alps academy & Alps beauty parlour & clinic सुरु गरिन् । रहरले सिकेको सीपले जुलीलाई स्वरोजगार त बनाएकै छ उनी उद्यमीको रुपमा पनि स्थापित भएकी छन् । ‘मैले २५ वर्ष अगाडि राजबिराजको सानो कोठामा चलेको पार्लरबाट आधारभूत तालिम लिएँ । त्यतिले मलाई पुगेन र काठमाण्डौ गएर स्पेशल कोर्ष गरें,’ उलने भनिन् ‘त्यसपछि म दिल्ली गएँ र दिल्ली आवर्स एकेडेमीबाट डिप्लोमा कोर्ष गरेर फर्किएँ, त्यहाँबाट आए लगत्तै खोलेको पार्लर चलाएरै मैले राम्रो आम्दानी गरिरहेको छु ।’
जुलीले विराटनगरमा व्यवसाय सुरु गर्दा केही पार्लरहरु राम्ररी चलिरहेका थिए । त्यसै भीडमा उनी पनि थपिइन् । त्यसबेलाको अनुभव सुनाउँदै भन्छिन् ‘त्यसबेला गाउँ र सहर दुवै ठाउँबाट पार्लरमा आउनेहरु थिए अहिले पनि छन् तर फरक के छ भने पहिले गुणस्तरमा ध्यान दिँदैनथे अहिले गुणस्तर खोज्नेहरु धेरै छन् ।’ सेवाग्राहीले गुणस्तरीय सेवा खोज्न थाले पनि पार्लरहरु भने त्यस अनुरुप अपग्रेड नभएको उनको बुझाइ छ । सेवाग्राहीको त्यही मनोभावना बुझेर निरन्तर व्यवसायलाई अपग्रेड गर्दै, नयाँ सेवा विस्तार गर्दै पेशालाई समृद्ध गरिरहेको उनी बताउँछिन् । ‘पहिले सामान्य कोठामा पनि सेवा लिन्थे तर अहिले सेवाग्राहीहरु शान्त वातावरण, गुणस्तरीय उपकरण र वस्तुको प्रयोग र एयर कण्डिसन भएको पार्लर रुचाउने गरेको मैले पाएको छु,’ उनले भनिन् ।
पार्लरमा सेवाग्राहीलाई सेवा दिने र नयाँ विद्यार्थीहरुलाई पार्लर सम्बन्धी आधारभूत र डिप्लोमा तालिम दिने काम समेत गर्दै आएकी जुली आफूपनि नयाँ र एडभान्स कोर्षको तालिम लिन पछिपर्दिनन् । उनले भर्खरै एक महिना लामो माइक्रो सेडिङ्ग, माइक्रो ब्लेडिङ, परमानेन्ट आइलाइनर, परमानेन्ट लिप कलर सम्बन्धी तालिम लिइन् । जुन तालिम विराटनगरमा यस अघि कसैले नलिएको र लिएकै भएपनि कसैले व्यावसायिक रुपमा अभ्यास नगरेको उनी बताउँछिन् । ‘यो विराटनगरमा एकदमै नयाँ हो, मैले एक महिना काठमाडौमा बसेर भर्खरै तालिम सम्पन्न गरें र अब तुरुन्तै त्यसलाई व्यावसायिक रुपमा सुरुवात गर्दैछु ।’
परमानेन्ट लिपस्टिक, लाइनर, आइब्रो गर्दा कुनै साइड इफेक्ट नहुने उनी बताउँछिन् । छालाको माथिल्लो भागमा मात्र पिग्मेन्ट गरिने भएकोले त्यसबाट साइडइफेक्ट हुने कुनै गुञ्जायस नहुने उनको भनाइ छ । ट्याटु बनाउँदा भन्दापनि धेरै सामान्य ढंगले पिग्मेन्ट गरिने भएकोले त्यसको नकारात्मक असर नरहने उनको दाबी छ । यसरी परमानेन्ट लाइनर, लिपस्टिक, आइब्रो गरेपछि ६/७ वर्षसम्म रहन्छ । त्यसपछि फेरी फिल गर्न मिल्छ । बीचमै हटाउन परे फेरि स्किन कलर फिल गरेर हटाउन सकिने उनी बताउँछिन् ।
विराटनगर पहिलेको भन्दा धेरै व्यस्त भइसकेको छ । व्यस्त रहने महिलाहरुको संख्या बढेको छ । त्यसैले पनि परमानेन्ट ढंगले मेकअप गर्न चाहनेहरु यहाँ धेरै छन् । बजारका हिसाबले विराटनगरमा राम्रो सम्भावना रहेको उनको अध्ययनले देखाएको छ । ‘मैले सेवा दिने तयारी गर्दा मात्र धेरैले मलाई बुक गर्नुभएको छ, यसले पनि बजारको अवस्था कस्तो छ स्पष्ट हुन्छ ,’ उनले भनिन् । निकट भविष्यमै सेवा आरम्भ गर्न गइरहेकी उनले आवश्यक सबै सामान आइनपुगेका कारण केही दिन बिलम्ब भएको बताइन् । ‘ब्राण्डेड सामानको प्रयोग गर्नुपर्ने भएकोले मैले सामानहरु मगाइरहेको छु । केही दिनभित्रै सामान आइपुग्छ र सेवा सुरु हुन्छ ।’ उनले एक दिनमा एक जनालाई मात्र यो सेवा दिन सकिने बताइन् । ‘ यो सेवा दिनमा एक जनालाई भन्दा बढी दिन सकिदैन, एकदमै फुर्सदमा, बिस्तारै शान्त वातावरणमा काम गर्नुपछ,’ उनले भनिन् ‘त्यसैले धेरैलाई सेवा दिन सकिदैन । एक जनाका लागि कम्तिमा अढाई घण्टा समय लाग्छ ।’
लामो समय टिक्ने भएकोले यो सेवा लिन खर्च पनि बढी नै लाग्छ । परमानेन्ट लाइनर, आइब्रो र लिपस्टिक गर्न ८ देखि १२ हजार रुपैयाँ खर्च लाग्ने उनले बताइन् । यद्यपी अहिले सुरुवातमा भने सेवाग्राहीलाई ५० प्रतिशत छुटमा सेवा दिने घोषणा गरेको उनले बताइन् ।
कोरोना भाइरसका कारण पछिल्लो समयमा पार्लरबाट सेवालिनेहरु घटेका छन् । तर प्याकुरेलको पार्लरलाई भने त्यसले धेरै फरक नपरेको उनी बताउँछिन् । थोरै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उद्देश्य रहेकोले पहिलेदेखि नै दैनिक थोरै व्यक्तिलाई उनको पार्लरले सेवा दिने गरेको थियो । ‘पार्लरमा एक दिनमा पाँच जनाभन्दा बढीलाई सेवा दिने गरेका छैनौं,’ उनले भनिन् ‘सेवाग्राहीहरु भीडभाड मनपराउँदैनन् । शान्त वातावरण खोज्छन् त्यसैले भीड गरेर काम गर्नु राम्रो हुन्न त्यसमा पनि कोरोनाको जोखिम भएकोले सचेत रहनु पर्ने अवस्था छ ।’ उनले थोरैलाई तर गुणस्तरीय सेवा दिने गरेकोले कोरोनापछिको अवस्थामा आम्दानीमा खास फरक नपरेको बताइन् ।
उनी व्यवसाय सञ्चालन गर्ने मात्र होइन त्यसका बारेमा पाठकहरुलाई जानकारी गराउन बेलाबेलामा लेख्ने पनि गर्छिन् । उनले पछिल्लो ११–१२ वर्षदेखि व्युटिसियन सम्बन्धी लेखहरु पत्रपत्रिकामा लेख्दै आएकी छन् । एफएमहरुमा कार्यक्रम पनि चलाउँथिन् । तर, केही समयदेखि भने उनले लेख्न भ्याएकी छैनन् । ‘कोरोनाले गर्दा केही समय लेखन अवरुद्ध भयो,’ उनले भनिन् ‘अब लेखनलाई पनि सँगसँगै लैजान्छु ।’ पूर्वमा यस क्षेत्रमा संलग्नहरुमा अध्ययन गर्ने र लेख्नेहरुको कमी रहेकोले पनि अरुलाई उत्साहित गर्न लेख्ने गरेको उनी बताउँछिन् ।
विराटनगरमा सुरुभयो ‘सेमीपरमानेन्ट मेकअप’
बदलिँदो समयमा हरेक क्षेत्रमा दिनदिनै नयाँ–नयाँ प्रगति भइरहेको पाइन्छ र यो समयको माग पनि हो । यस्तै सौन्दर्य क्षेत्रमा पनि तीब्रगतिमा नयाँ–नयाँ सिर्जना भइरहेको पाइन्छ । महिलालाई सुन्दर देखिने र देखाउने कार्यमा सँधै गहन अध्ययन भइरहेको पाइन्छ । अहिले सबै महिलाहरु प्रायः व्यस्त र कामकाजी भएका छन् । घर हेर्नु, बच्चा हेर्नुको साथै आफ्नो व्यवसाय, नोकरीमा व्यस्त हुँदा अरु कामका लागि समय कम मात्र पाइन्छ । आफ्नो निजी काम कामको लागि महिलाले यी सब कुरालाई ध्यानमा राखेर सौन्दर्य विज्ञहरुले वर्षौंको गहन अध्ययनपछि यो निश्कर्ष निकाले की महिलाहरुलाई आफ्नो सौन्दर्य वृद्धिको सजिलो बनाउन आवश्यक छ । सँधै आइब्रो बनाउने, लिपिष्टिक लगाउने वा लाइनर लगाउने जस्ता कार्यलाई सँधैको लागि सजिलो बनाउँन जरुरी ठानियो । घरको काम सकाएर मेकअप गर्न घटौं लाग्छ । त्यहिपनि कहिलेकाही चित्त बुझ्दैन । कतै बाहिर जाँदा लाइनर बिग्रियो की वा लिपस्टिक बिग्रियोकी भन्ने डर भइरहन्छ । पानीले अनुहार सफा गर्दा सारा मेकअप बग्यो की भन्ने तनाव हुन्छ । मेकअप बगेमा मेकअपलाई फेरी लामो समय दिन मन नलाग्न पनि सक्छ । तरफेरी राम्रो पनि देखिनु छ । यी सब समस्याको समाधान अहिले नयाँ प्रविधिबाट हुन्छ । जसलाई माइक्रो सेडिङ्ग, माइक्रो ब्लेडिङ, परमानेन्ट आइलाइनर, परमानेन्ट लिप कलर भनिन्छ ।
यसरी आइब्रोमा यसको कमिकमजोरी सँधैको लागि हटाउन सकिन्छ । आइलाइनर लगाउँदा अनुहार पखाल्दा पनि लाइनर रहिरहने, लिपस्टिक लगाइरहने झन्झटबाट मुक्ति पाइने परमानेन्ट लिप कलरले कलर गर्ने यी सबको लागि अहिले सेमिपरमानेन्ट मेकअप नेपालमा चलनचल्तिमा आएको पाइन्छ । विराटनगरमा पहिलो पटक ALPS Beauty parlour ले यो सेवा भ्यिाएको छ र नयाँ प्रशिक्षार्थीहरुलाई प्रशिक्षण समेत दिदै आएको छ । सेमि–परमानेन्ट मेकअपको कोर्ष गरी आफ्नो पार्लरमार्फत प्रशिक्षार्थीहरुलाई नयाँ सीप सम्बन्धी प्रशिक्षण सुरु गरेको छ ।