विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रका करिव १ हजार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ ।
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत शुरु भएको स्वास्थ्य शिविर आगामी असोज २० गते सम्म सञ्चालन हुने विराटनगर महानगरपालिकाले जनाएको छ ।
विराटनगरका ९ वटा वडामा ८ दिनसम्म सञ्चालन हुने शिविरमा ९९९ जना अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिने लक्ष्य रहेको विराटनगर महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका र करुणा फाउण्डेशन प्रदेश १ को आयोजनामा स्वास्थ्य परीक्षण शिविर शुरु भएको हो ।
अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुलाई परिचयपत्र वितरण गर्ने, अपाङ्गता भएका व्यक्तिहरुको अवस्था पहिचान गरि फिजियोथेरापी, जिविकोपार्जनका लागि सीपमुलक कार्यक्रम गर्ने र अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षाको लागि पहुँच उपलब्धता गराउने उद्देश्यले शिविर शुरु गरिएको गौतमले बताए । विराटनगरको वडा नम्वर २ वाट शिविर शुरु गरिएको छ । मंगलबार करिब ५८ जनाको स्वास्थ्य परीक्षण गरिएको करुणा फाउण्डेसन नेपाल प्रदेश १ का कार्यक्रम अधिकृत राजिवकुमार चौधरीले बताए ।
असोज १३ गते विराटनगर ७ र ९ का लागि आदर्श माविमा, असोज १४ गते विराटनगर ८ को महेन्द्र माविम,ा असोज १५ गते विराटनगर ३ को परोपकार समाज सेवा केन्द्रमा, असोज १७ गते विराटनगर ६ को जनचेतना आधारभुत विद्यालयमा, असोज १८ गते विराटनगर ११ को जनपथ माविमा, असोज १९ गते विराटनगर १२ को बखरी आधारभुत विद्यालयमा र असोज २० गते विराटनगर १३ को बाल माविमा शिविर सञ्चालन हुनेछ । शिविरमा गरिएको स्वास्थ्य परीक्षणका आधारमा व्हील चेयर, सेतो छडी, बैशाखी, सुनाई यन्त्र, चस्मा, कृतिम हातखुट्टा, औला, फिजियोथेरापी सेवा र थप उपचारका लागि अस्पताल रेफर गरिनेछ ।