सुनपसल लुटपाटको प्रयास प्रकरण : मुख्य नाइकेसहित चार जना जेल चलान

विराटनगर । अत्याधुनिक हातहतियार देखाएर मोरङको सुन्दरहरैँचास्थित विराटचोकमा एउटा सुनपसल लुटन खोज्ने गिरोहका मुख्य नाइकेसहित चार जना पुर्पक्षको लागि जेल चलान भएका छन् ।

मोरङ अदालतका न्यायाधीश सुदर्शन लामिछानको इजलासले गिरोका मुख्य नाइकेसहति चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् । यस्तै सोही घटनामा तीन जनालाई धरौटी र साधारण तारेखमा छाड्ने आदेश दिएको मोरङ अदालतले जनाएको छ ।

अदालतको आदेशअनुसार संखुवासभा घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी, ३३ वर्षीय आशीष भनिने सविनकुमार चौधरी र भोजपुर घर भई तरहरामा बस्दै आएका ३० वर्षीय नगेन्द्र राई पुर्पक्षको लागि कारागार चलान भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । हातहतियार देखाएर लुटपाट गर्न खोज्ने घटनाको मुख्य योजनाकार चन्द्रबहादुर र प्रमोद हुन् । चन्द्रबहादुर नेपाली सेनाका पूर्व जवान हुन् भने प्रमोद पूर्व लडाकु हुन् ।

अदालतले मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २२ वर्षीय मिसन राईलाई एक लाख ५० हजार र सुन्दरहरैँचा–७ का ३१ वर्षीय सन्तोष राईलाई एक लाख २५ हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । मिसन र सन्तोष धरौटीबापतको रकम जम्मा गरेर छुटेका छन् । संखुवासभा घर भई तरहरामा बस्दै आएका चिरञ्जीवी राई भने अदालतको आदेशपछि साधारण तारेखका छुटेका छन् ।

मोरङ अदालतमा सात जनाविरुद्ध हातहतियार खरखजना, डाका उद्योग, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेको थियो । प्रहरीले उनीहरूलाई गत साउन दोस्रो साता मोरङ र सुनसरीका विभिन्न स्थानबाट पक्राउ गरेको हो । गिरोहबाट प्रहरीले एउटा एसएमजी, त्यसको म्याग्जिन, ६२ राउन्ड गोली, कटुवा र अटोमेटिक गरेर दुइटा पेस्तोल, पेस्तोलको एउटा म्याग्जिन, पेस्तोलको दुई र थ्री नट थ्री राइफलको चार राउन्ड गोली, दुइटा सञ्चार सेट र १६ हजार एक सय रूपैयाँ बरामद गरेको थियो । त्यस्तै यो गिरोहले प्रयोग गर्दै आएको एउटा अटो टेम्पो, चार वटा मोटरसाइकल र आठ वटा मोबाइल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विराट चोकका खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा गत साउन १ गते दिउँसो लुटपाटको प्रयास भएको थियो । हतियार देखाएर सर्वसाधारणलाई आतङ्कित एवं त्रसित बनाउँदै शिव पाञ्चायन ज्वेलर्समा लुट्न खोज्ने गिरोहलाई कारबाहीको दायरामा ल्याउन प्रहरी सफल भएको हो ।

आइतबार, १० असोज, २०७८, साँझको ०७:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर