हतियार देखाएर सुनपसल लुट्न खोज्ने सैनिक जवानसहित चारजना विरुद्ध मुद्दा

माओवादीका पूर्वलडाकु र पूर्वसेना एउटै समूहमा रहेर संगठित गिरोह खडा गर्दै अपराधमा लागेको पुष्टि

विराटनगर । मोरङको विराटचोकमा एक सुनचाँदी पसलमा अत्याधुनिक हातहतियार देखाउँदै सुनचाँदी पसल लुटपाटको प्रयास गर्ने गिरोहका मुख्य सदस्यसहित पक्राउ परेका सात जनाविरूद्ध चार वटा मुद्दा दर्ता भएको छ ।

मोरङ प्रहरीले अनुसन्धान पूरा गरि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि मोरङ अदालतमा उनीहरू विरुद्ध चार वटा मुद्दा दर्ता गरेको हो । सुनचाँदी लुटपाट गर्न खोज्दै गिराहेको मुख्य नाइकेसहित ७ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मोरङ अदालतमा हातहतियार खरखजना, डाका उद्योग, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ ।

सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता भएपछि बिहीबारबाट प्रतिवादीको बयान सुरु भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । अत्याधुनिक हतियारको बलमा आतंक मच्चाउँदै आएको माओवादीका पूर्वलडाकु र पूर्वनेपाली सेनाका जवानसहित मोरङ प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले झण्डै २ महिना लगाएर यस घटनाको अनुसन्धान गरेको थियो । सुरक्षाकर्मीको विशेष टोलीले मात्रै प्रयोग गर्न पाउने अत्याधुनिक हतियार एसएमजी (मेसिनगन) र पेस्तोल तथा ठूलो परिणामको गोली एवं म्यागजिनसहित गिरोहका ७ जनालाई प्रहरीले गत साउन दोस्रो साता मोरङ र सुनसरीका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

संखुवासभा घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, ३० वर्षीय चिरञ्जिवी राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी, ३३ वर्षीय आशिष चौधरी, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २२ वर्षीय मिसन राई, सुन्दरहरैँचा–७ का ३१ वर्षीय सन्तोष राई र भोजपुर घर भइ तरहरामा बस्दै आएका ३० वर्षीय नगेन्द्र राई पक्राउ परेका हुन् ।

नेपाली सेनाको शेरजंग गणमा कार्यरत पूर्वजवान चन्द्रबहादुरले ३ वर्षअघि खोटाङदेखि जागिरबाट राजीनामा दिएको खुलेको छ । संगठित गिरोह निर्माण गर्दै लुटपाट आतंक मच्चाउन उनैले हतियार ल्याउने, व्यवस्थापन गर्ने र लुकाउने कामको नेतृत्व गरेको पत्ता लागेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । व्यक्ति हत्यामा सुनसरीबाट चलाइएको कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरेर छुटेका माओवादीका पूर्वलडाकु प्रमोदले १ वर्षदेखि संगठित एवं अपराधिक गिरोहको नेतृत्व गरेको अनुसन्धानबाट खुलेको छ । पूर्वलडाकु प्रमोद माओवादीको पूर्वाञ्चल सातौं ब्रिगेडमा आवद्ध थिए ।

गिरोहबाट प्रहरीले एउटा एसएमजी, त्यसको म्याग्जीन, ६२ राउण्ड गोली, कटुवा र अटोमेटिक गरेर दुईवटा पेस्तोल, पेस्तोलको एउटा म्याग्जीन, पेस्तोलको २ र थ्री नट थ्री राइफलको ४ राउण्ड गोली, दुईवटा सञ्चार सेट र १६ हजार १ सय रूपैयाँ बरामद गरेको थियो। त्यस्तै यो गिरोहले प्रयोग गर्दै आएको एउटा अटो टेम्पो, ४ वटा मोटरसाइकल र ८ वटा मोबाइल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित त्रिवेणी टोलमा खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा गत साउन १ गते दिउँसो लुटपाटको प्रयास भएको थियो । पक्राउ परेको गिरोहको समूहले हतियार देखाएर सर्वसाधारणलाई आतंकित एवं त्रसित बनाउँदै शिव पञ्चायन ज्वेलर्समा लुटपाटको असफल प्रयास गरिएको हो ।

प्रहरीले पक्राउ गरेर अनुसन्धान थाल्दा माओवादीका पूर्वलडाकु र पूर्वसेना एउटै समूहमा रहेर संगठित गिरोह खडा गर्दै अपराधमा लागेको पुष्टि भएको हो । घटनामा प्रयोग गरिएको अत्याधुनिक हतियार भारतबाट खरिद गरेर ल्याएको खुलेको छ । भारतमा ३ लाख रूपैयाँमा खरिद गरी सप्तरीको बाटो हुँदै डेढ वर्षअघि नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको एसपी जीसीको भनाइ छ । प्रहरीले बेलैमा गिरोहलाई पक्राउ गर्न सकेका कारण अत्याधुनिक हतियारको गैरकानुनी प्रयोग गर्दै अरु ठूला अपराधिक घटना गराउन भने नपाएको जानकारी उनले दिए ।

बिहिबार, ०७ असोज, २०७८, रातीको ०८:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर