विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ का लागि बजेट पारित गरेको झण्डै तीन महिनापछि मात्र महानगरभित्र सञ्चालन हुने योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । विभिन्न महाशाखा तथा शाखागत रुपमा एकमुष्ठ रकम राखेर बजेट पारित गरेको महानगरले शुक्रबारमात्र वडा तथा नगरस्तरीय योजना बाँडफाँड गरी कार्यक्रम सार्वजनिक गरेको हो ।
समयमै बजेट परित भएपनि चालु वर्षमा सञ्चालन गर्ने योजनाहरको टुंगो लगाउन नसक्दा महानगरले चालु आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको समय त्यतिकै खेर फालेको छ । समयमा योजना र कार्यक्रमहरु सार्वजनिक नहुँदा साउन र भदौ महिनामा महानगरका कर्मचारीहरु कामबिहीन बनेका थिए ।
महानगरपालिकाको वेबसाइटमा शुक्रबारमात्र चालु वर्षका योजना र कार्यक्रमहरु प्रकाशन भयो । नगरसभाबाट पारित एकमुष्ठ बजेटको आकारभित्र रहेर योजनाहरुमा बजेट विनियोजन गर्ने कामलाई महानगरपालिकाका प्रमुख भीम पराजुलीले शुक्रबार अन्तिम रुप दिँदै हस्ताक्षर गरेपछि महानगरले वेबसाइटमा प्रकाशन गरेको हो । अब केही दिनभित्रै योजना पुस्तिका प्रकाशन गर्ने तयारी महानगरले गरेको छ । योजना पुस्तिका प्रकाशन भएपछि मात्र बजेट कार्यान्वयनमा जाने अभ्यास रहेको महानगरले जनाएको छ ।
विराटनगर महानगरपालिकाले चालु वर्षका लागि २ अर्ब ५६ करोड, ३८ लाख ९ हजार ५६८, चालु खर्च तर्फ १ अर्ब ९९ करोड ४२ लाख ९० हजार ४३२ रुपैयाँ र साँवा तथा ब्याज भुक्तानी तर्फ ५ करोड गरी ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको बजेट ल्याएको थियो । उक्त रकमलाई विभिन्न शिर्षक र योजनाहरुमा बाँडफँड गरिएको छ ।
महागनरपालिकाले दुई आर्थिक वर्षदेखि भुक्तानी दिनुपर्ने रकमको आकारसमेत ठूलो देखिएको छ । चालु वर्षको बजेटमा दायित्व सारेर ल्याइएको भुक्तानी गर्न बाँकी खर्च मात्रै ४८ करोड ९८ लाख ७५ हजार ८५६ रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७६/७७ र आ.व. २०७७/७८ मा योजना सञ्चालन भई भुक्तानी बाँकी रहेको ४७८ वटा योजनाको झण्डै ४९ करोड रुपैयाँ चालु वर्षमा भुक्तानी दिनुपर्ने देखिएको छ । भुक्तानी दिन बाँकी रकम महानगरपालिकाको एक वर्षको आन्तरिक स्रोतबाट हुने आम्दानी भन्दा बढी हो । गत वर्ष विराटनगर महानगरले करिव ४० करोड रुपैयाँ मात्र आम्दानी गर्न सकेको थियो ।
महानगरपालिकाले चालु वर्षका लागि पनि करोडौं रुपैयाँ अनुत्पादक क्षेत्रमा खर्च गर्ने गरी बजेट विनियोजन गरेको पाइएको छ । महानगरले विभिन्न सामाजिक संघसंस्था र धार्मिक मठमन्दिर तथा गुठीहरुका लागि मात्र १६ करोड ७७ लाख रुपैयाँ भन्दा बढीका योजनाहरुमा बजेट विनियोजन गरेको छ । विनियोजित रकममध्ये १० करोड ७४ लाख पुँजीगत र बाँकी ६ करोड भन्दा बढी रकम चालु खर्च अन्तरगत रहेको छ ।
महानगरले बजेट विनियोजन गर्दा कतिपय निजी कम्पनीहरुको नाममा समेत बजेट उपलब्ध गराइएको पाइएको छ । कृषि क्षेत्रमा काम गर्दै आएको कमरशियल एग्रिकल्चर एलायन्सको नाममा महानगरपालिकाले बिना योजना १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यतिमात्र होइन व्यवसायिक रुपमा सञ्चालन भएका ब्युटिपार्लरहरुको नाममा समेत महानगरपालिकाले बजेट सहयोग गरेको छ । महानगरले ब्युटिसियन तालिम सञ्चालन गर्न वडा तथा नगरस्तरमै बजेट विनियोजन गरेको छ । त्यस बाहेक निजी कम्पनी वा व्यवसायिक फर्मलाई छुट्टाछुट्टै बजेट दिने गलत अभ्यास महानगरले गरेको पाइएको हो । विराटनगर ६ को साइच्छा ब्युटिपार्लर, तागेरा ब्युटी पार्लर लगायतको नाममा महानगरले बजेट छुट्याएको पाइएको हो । महानगरले कतिपय निजी सफ्टवेयर कम्पनी र इन्स्टिच्युटको नाममा पनि बजेट राखिदिएको छ ।
पूर्वाधार तर्फ प्रयाप्त बजेट नहुँदा बिकास निर्माणको काम अघि बढ्न सकेका छैनन् । नगरमा अहिलेपनि सडक, नाला, खानेपानी जस्ता आधारभूत विकासको न्यूनतम आवश्यकतासमेत परिपूर्ति नभइरहेको बेला ठूलो रकम अनुत्पादक क्षेत्रमा खर्च गर्नु उपयुक्त नहुने सरोकारवालाहरले बतएका छन् ।
चालु वर्षको बजेटमा महानगरले गर्भवती महिला र नव दम्पती लक्षित अनौठो कार्यक्रमका लागि समेत बजेट विनियोजन गरेको छ । गर्भवती महिलाका लागि शुभकामना व्यक्त गर्न शुभकामना कार्ड छाप्ने प्रयोजनका लागि महानगरले ३ लाख १६ हजार बजेट छुट्याएको छ । त्यस्तै नव दम्पतिलाई शुभकामना दिने प्रयोजनका लागि १ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।