नवोदितको ‘समयको बयान’ कविता संग्रह विमोचन

काठमाडौं । युवा कवि मीनकुमार नवोदितको ‘समयको बयान’ कविता संग्रहको विमोचन गरिएको छ । नेपाल साहित्यिक पत्रकार संघले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले कविता संग्रहको विमोचन गर्नुभयो ।

कविता संग्रहबारे वरिष्ठ कवि एवं समालोचक प्रमोद प्रधानले समीक्षा गर्दै नवोदितको कवितासंग्रह समयको बयानले मुलुकको अहिलेको अवस्था देखिएको बताए । उनले संग्रहले नेपालको राजनीतिक, आर्थिक, सामाजिकमात्रै नभएर लैंगिक विभेदलाई सशक्त रुपमा उठाएको उल्लेख गरे । ‘मीनकुमार नवोदितको समयको बयानले वास्तवमै अहिलेको युगको बयान गरेको छ । यस संग्रहले नवोदितलाई निकै माथि उठाउँछ,’ उनले भने , ‘नेपाली कविता लेखनले अहिले नयाँ उचाइ प्राप्त गरिरहेको छ, यसमा यो कवितासंग्रहले पनि एउटा इँटा थपेको छ, सबै क्षेत्रलाई संग्रहले उठाएकाले पाठकको मन जित्नेछ ।’

त्यस्तै समालोचक ज्ञानु अधिकारीले नेपाली कविता साहित्यकै सबैभन्दा पुरानो विधा भएको बताउँदै नवोदितको कवितासंग्रहले त्यो इतिहासमा एउटा इँटा थपेको चर्चा गरिन् । उनले नवोदितको कविता संग्रह पढ्दा अहिलेको नेपालको तस्बिर देखिने बताइन् । बेरोजगारी समस्या, युवापलायन, आर्थिक अभाव, मानवीय संवदेनामा आएको ह्रासलगायतका विषयलाई संग्रहमा सशक्त रुपमा उठाएको उनको भनाइ थियो ।

कार्यक्रममा अग्रज कवि विमल भौकाजी, उमेश राई अकिन्चन, शकुन्तला जोशी, महेश पौड्याल, शुभलक्ष्मी लम्साल, रामगोपाल आशुतोष, मन्जिला उपाध्यायले विमोचित कृतिका कविता वाचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले नेपाली साहित्यको कविता विधामा नवोदितले प्रचुर सम्भावना बोकेको बताए । ‘काठमाडौंबाहिर बसेर पनि राष्ट्रियस्तरमै चर्चा कमाउनु सामान्य कुरा होइन,’ उनले भने, ‘विगतमाभन्दा नवोदितमा निखरता आएको पाउँदा मलाई धेरै नै खुसी लागेको छ ।’ नवोदितको लेखन अहिलेको युवा पुस्ताका लागि नयाँ आयाम भएको र विशेष गरी ग्रामीण विषयलाई उठाउने गरेको उनले बताए । उनले संग्रहभित्रका अधिकांश कविता ग्रामीण जनजीवनसँग निकट गरेको उल्लेख गरे । आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले नयाँ संग्रहले नवोदितलाई युवा पुस्ताका सशक्त कविका रुपमा स्थापित गरेको बताए ।

नेपाल सरकारबाट २०७७ सालको युवा वर्ष मोती पुरस्कारबाट विभूषित नवोदितका यसअघि ‘फूलबारी भित्रका भमराहरू’ र ‘झरीले रुझेको गाउँ’गरी दुई कविता संग्रह प्रकाशित भइसकेका थिए । रत्न पुस्तक भण्डारले प्रकाशित गरेको कविता संग्रहमा ४२ वटा कविता संग्रहित छन् ।

शनिबार, २६ भदौ, २०७८, साँझको ०५:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर