विराटनगर । विराटनगर महानगरपालिकाले सिटी रिक्साका कारण सवारी जाम बढेको भन्दै छिमेकी गाउँपालिकामा दर्ता भएका त्यस्ता सवारीलाई महानगर प्रवेशमा रोक लगाएको छ ।
महानगरपालिकाले क्षेत्रमा सवारी जाम बढेको र त्यसको न्यूनीकरणको लागि छिमेकी पालिकाबाट यात्रु बोकेर विराटनगर आउने सिटी रिक्सालाई सोमबारदेखि प्रतिबन्ध लगाइने भन्दै सूचना जारी गरेको छ । महानगरपालिकाले यातायात व्यवस्था कार्यालयको इजाजत पत्र र स्थायी बसोबासको आधार मानेर रुट परर्मिट तय गर्ने निर्णय गरेको गरेको छ ।
विराटनगर महानगरपालिका राजश्व प्रशासन महाशाखा प्रमुख राजेन्द्र प्रधानका अनुसार प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ तथा प्रदेश सवारी तथा यातायात नियमावली २०७७ र विराटनगर यातायात व्यवस्थापन कार्यविधि २०७७ अनुसार अन्य पालिकाबाट प्रवेश गर्ने सिटी सफारीलाई रुट पर्मिट नदिने निर्णय भएको हो । महानगरपालिकाले गत भदौ १० गतेदेखि यहि ऐन, नियमावली र कार्यविधिमा टेकेर तीन पाङग्रे सवारीको नविकरण, रुट इजाजत, चालक अनुमति पत्र तथा जाँचपास कार्य थालनी गरिसकेको छ ।
विराटनगर महानगरपालिका मात्रै ४ हजार ४ सय सिटी सफारी रहेको अनुमान गरिएको छ । महानगरको दर्ता प्रक्रियाभित्र प्रवेश गरेपछि यसको एकिन संख्या आउने महाशाखा प्रमुख प्रधानको भनाइ छ । छिमेकी पालिकाबाट समेत सिटी सफारी प्रवेश गर्दा महानगरको ट्राफिक व्यवस्थापन चुनौती भएकोले सर्वपक्षीय हितका लागि यस्तो निर्णय गरिएको प्रधानले बताए ।
छिमेकी पालिकाका सिटी रिक्सा चालक भने आन्दोलित
यसैबीच महानगरपालिकाको यस्तो निर्णयका विरुद्ध मोरङको कटहरी र जहदाका सिटी रिक्सा चालकहरू आन्दोलित भएका छन् ।
उनीहरूले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि मजदुरमारा निर्णय विराटनगर महानगरपालिकाले तत्काल सच्याउनुपर्ने माग गरेका छन् । सिटी सफारी चालक संघका अध्यक्ष एवं कटहरी–जहदा सिटी सफारी चालक संयुक्त संघर्ष समितिका संयोजक अध्यक्ष काशिराम राजवंशीले यो निर्णय फिर्ता हुनै पर्ने बताए ।
महानगरपालिकामा प्रवेश गर्ने सफारीलाई निषेध गर्ने निर्णयले रोजगारी खोसिएको उनीहरुको गुनासो छ । जसले महानगरपालिकासँग जोडिएका मोरङको कटहरी, जहदा, बुढीगंगा गाउँपालिकामा बसोबास गरि सिटी रिक्सा सञ्चालन गर्दै आएका चालकलाई मर्का परेको अध्यक्ष राजवंशीले बताए । ‘महानगरपाकिाले गरेको निर्णय तत्काल सच्याउनु पर्नेछ । नभए सिटी सवारी चालकहरू आन्दोलनमा होमिन बाध्य हुनेछौं,’ संघर्ष समितिका अध्यक्ष राजवंशीले भने, ‘हाम्रो माग सुनवाइ नभए सिटी सवारी चालकहरु चरणबद्ध रूपमा आन्दोलनमा उत्रिनेछौं ।’ त्यसको विरोधमा मोरङको कटहरी र जहदा गाउँपालिकामा स्थायी बसोबास रहेका चालकहरुको संयुक्त संघर्ष समिति गठन गरेर विरोधमा उत्रिएका हुन् ।
संघर्ष समितिका अध्यक्ष राजवंशीले महानगरपालिकाले गरेको निषेधले आफूहरुको रोजगारी खोसिने बताए । यस अगाडिसम्म विराटनगर महानगरपालिका भित्र प्रवेश गर्ने सिटी सफारीले दैनिक १० रुपैयाँ सवारी कर बुझाउँदै आएका थिए । महानगरपालिकाले हाटखोला, बरगाछी र केशलियामा ढाट राखेर छिमेकी पालिकाबाट प्रवेश गर्ने सिटी सफारीका चालकसँग १० रुपैयाँ कर असुल्दै आएको संघर्ष समितिका सह–संयोजक दिपक मण्डल राजवंशीको भनाइ छ ।