विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्रका विद्यालयहरु तत्काल सूचारु नहुने भएका छन् । कोरोना संक्रमणको दर र त्यसको प्रभाव केही घटेपनि जोखिम संवेदनशीलता कायमै रहेकोले तत्काल विद्यालय खुल्ने सम्भावना नभएको हो ।

भदौ २० गतेदेखि विराटनगरमा विद्यालय खुल्ने भन्ने चर्चा भइरहेको बेला विराटनगर महानगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले अहिलेसम्म महानगरले विद्यालय खोल्ने सम्बन्धमा कुनै निर्णय नगरेको बताए ।

महानगरपालिकामा तत्काल भौतिकरुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन सुचारु गर्ने अवस्था नभएको पनि उनले बताएका छन् । ‘कोरोना संक्रमणको अवस्था अध्ययन र त्यस सम्बन्धी छलफलमा विद्यालय सूचारु गर्ने अवस्था छदैछैन’, उनले भने ‘महानगरले अवस्था अध्ययन गर्न समिति गठन गरेको र त्यसले प्रतिबेदन बुझाइन नसकेकोले केही पछि मात्र अवस्थाका बारेमा विस्तृत रुपमा भन्न सकिन्छ, अहिले चाँही यति भनौं कि तत्काल विद्यालय खुल्ने र खुलाउने अवस्था छैन ।’ उनले भदौ २० गतेदेखि स्कुलहरु खुल्ने भन्ने समाचारहरु आफूले देखेको भएपनि त्यसमा कुनै सत्यता नरहेको बताएका छन् ।

महानगरपालिकाले विद्यालयहरु सञ्चालन गर्ने अवस्था अध्ययन गर्न गठन गरेको पाँच सदस्यीय समितिले प्रतिबेदनलाई अन्तिम रुप दिइसकेको छ । तर, समितिले प्रतिवेदन महानगरलाई बुझाइसकेको छैन ।

समितिले तयार गरेको प्रतिवेदनले भौतिकरुपमा विद्यार्थी उपस्थित गराएर अध्ययन अध्यापन गर्ने अवस्था नरहेको, अहिले पनि स्मार्ट लकडाउनको अवस्था विद्यमान रहेकोले विद्यालयहरुले अनलाइन शिक्षामार्फत नै पठनपाठन गर्नु उपयुक्त हुने, अनलाइनको पहुँचमा नभएका विद्यार्थीहरुलाई सीमित समयका लागि अत्यन्त न्यून संख्यामा विद्यालयमा उपस्थित गराएर एकदेखि दुई घण्टा अध्ययन सहजीकरण गरिदिन सक्ने जस्ता सुझाव दिने तयारी गरेको छ ।

अध्ययन प्रतिवेदन बुझाएपछि महानगरको शिक्षा समितिको बैठक बसेर प्रतिवेदनका सुझावहरुको आधारमा आवश्यक निर्णय गर्ने अधिकृत भट्टराईले बताए । उनले भने ‘अहिलेसम्म महानगरले आधिकारिक कुनै निर्णय गरेको छैन, पहिले प्रतिवेदन आवस् अनि समितिले बैठक बसेर आवश्यक निर्णय गर्छ ।’ उनले केही दिनभित्रै समितिले महानगरलाई प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी दिएका छन् ।