जनवादी गायक जेबि टुहुरेको निधन

विराटनगर । जनवादी गायक जेवि टुहुरेको आज निधन भएको छ । टुहुरेको बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा निधन भएको हो ।

टुहुरे गत मंगलबार घरमा एक्कासी लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्रनिकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि २ बजेसम्म माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनले २०३४ सालदेखि अहिलेसम्म गाउँदै आएको सबैभन्दा चर्चित गीत हो ।

सुनसरीको धरान घर भएका जेबि टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सांसदसमेत बनेका थिए ।

बिहिबार, १० भदौ, २०७८, दिउँसोको ०१:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर