कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ७ मा ट्री हाउस (रूख घर) निर्माण गरिएको छ। पूर्वपश्चिम राजमार्ग कानेपोखरी चोकदेखि दक्षिणतर्फ रहेको ग्रामीण सुधार सामुदायिक वन क्षेत्रभित्रको राई जातिहरूको धार्मिकस्थल साकेला थान परिसरमा निर्माण भएको हो ।
त्यस क्षेत्रभित्रका रूखहरूलाई सहायता बनाई निर्माण गरिएको हाउस निकै आकर्षक र मनमोहक छ । कानेपोखरी–५ जहदा निवासी रामकाजी रार्इको एकल करिब १५ लाखको लगानीमा निर्माण भइरहेको हाउस कानेपोखरी गाउँपालिकाकै एक नमुना पर्यटकीयस्थल बन्ने विश्वास गरिएको छ ।
१३ वर्ष ब्रिटिस सेनाको रुपमा काम गरेका उनले बेलायत बस्दा नेपाल र बेलायतबीचको मानवीय बौद्धिक क्षमता, धर्मप्रतिको सचेतता र पर्यटकीय अवस्थाको बारेमा तुलना गरे सो अनुरूप नेपाल आएर कुनै पर्यटकीय आकर्षणको क्षेत्र निर्माण गर्ने सोच गरेको र फलस्वरूप यो ट्री हाउस बनाएको बताए ।
राईका अनुसार ट्री हाउस पूर्ण रूपले निर्माण सकिन केही प्रतिशत मात्र काम बाँकी रहेको र अब केही दिनभित्रमै सर्वसाधारणका लागि खुल्ला गरिने जानकारी दिए। दुई तला र दुवैमा बस्न मिल्ने गरि बनेको घरमा सामान्य जन्मदिनको कार्यक्रम, सभा, बैठकलगायतको कार्य गर्न सकिने र यस घरबाट प्राकृतिक सुन्दरतालाई पनि नियाल्न सकिने बताए । उनले भने, ‘यो सबै धर्म, संस्कृति मान्ने व्यक्तिको साझा सम्पत्ति हो । यहाँ जुनसुकै धर्म, जाती, परम्परा भएका मानिसले आफ्नो धार्मिक कार्यक्रमलगायत धार्मिकस्थल निर्माण गर्न पाउनेछ्न् । हामीबीच कुनै फरक छैन, सबै मिलेर सहिष्णुताका साथ यस क्षेत्रलाई मानवीय मेलमिलापको संगम बनाउने इच्छा छ।’
उनले केही गुनासो गर्दै कानेपोखरीलाई पर्यटकीय आर्कषण केन्द्रको रूपमा विकास गर्ने प्रयासलाई गाउँपालिकाले कुनै प्रकारको सहयोग नगरेको भने । बारम्बार प्रस्ताव राख्दासमेत सहयोग नभएको गुनासो पोखे। यदि पालिकाले सहयोग गरे अझै विस्तारित गर्न सकिने कुरा राखे । वि.सं. २०५२ सालमा ३ बिगाहा जमिन किराँत धार्मिक वन साकेला थानको नाममा पास गरि किराँतहरूले सो ठाउँमा आफ्नो धार्मिक कार्य गर्दै आएको थिए ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।