विराटनगर । प्रदेश १ सरकारद्वारा सञ्चालित कोभिड–१९ उपचार केन्द्रको मर्मत सम्भार तथा स्वास्थ्य उपकरण खरिद खर्च सन्तोषजनक नरहेको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ ।
महालेखापरीक्षकको भदौ ४ गते सार्वजनिक ५८ औं प्रतिवेदनले यस्तो औंल्याएको हो । कोरोना संक्रमितको सघन उपचारका निम्ति २०७६ चैत्र ७ गतेदेखि प्रदेश सरकारले न्यूनतम १० बेडको भेन्टिलेटरसहित ५० शैयाको अस्पताल सञ्चालनमा ल्याएको थियो । साविकको नेशनल टे«डिङ लिमिटेडको रिक्त संरचनामा सञ्चालनमा ल्याईएको उक्त अस्पताल हाल ९६ बेड क्षमताको विस्तारित कोभिड अस्पतालमा परिणत भइसकेको छ ।
उक्त अस्पतालमा हालसम्म प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् भवनको मर्मत सम्भार तथा स्वास्थ्य उपकरणलगायतका कार्यमा २ करोड खर्च गरिसकेको छ । चालु आर्थिक वर्षमा पनि उक्त अस्पताललाई स्वास्थ्य कार्यालय मोरङले ३५ लाख ५६ हजारको मालसामान, प्रदेश प्रयोगशालाले १२ लाख २७ हजारको स्वास्थ्य उपकरण र मन्त्रालयले समेत ६९ लाख ८८ हजार गरि कुल १ करोड १७ लाख ७१ हजार मुल्यको सामाग्री खरिद गरी पठाइसकेको छ ।
तर, ती सामाग्रीहरुको जिन्सी अभिलेख तयार नगरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनको परिच्छेद ३ को खण्ड–२ अन्तर्गत पेज नं. ६२६ को बुँदा नं. ६० मा भनिएको छ, ‘१ करोड १७ लाख ७१ हजारको जिन्सी अभिलेख तयार गरिएको पाईएन । ती उपकरण र अन्य सामाग्रीहरु जिन्सी आम्दानी गरि प्रयोग भएको सुनिश्चितता गर्नुपर्दछ ।’