उद्योग संगठन मोरङद्वारा उद्योगी/व्यवसायीका लागि उत्प्रेरणामूलक कार्यक्रम

विराटनगर । उद्योग संगठन मोरङले उद्योग/प्रतिष्ठानका संचालक र उच्च व्यवस्थापकहरुको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उत्प्रेरणामूलक कार्यक्रम गरेको छ ।

कोरोना महामारीका कारण उद्योग/व्यवसाय लगायतका क्षेत्रहरुले भोग्नु परेको व्यवसायीक समस्यालाई दृष्टिगत गरी कार्यक्रम गरिएको उद्योग संगठन मोरङले जनाएको छ । नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको सहकार्यमा आयोजित कार्यक्रममा संकटको समयमा व्यापारको पुनःरणनीतिकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम भएको हो ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्षेत्रलाई निराश तुल्याएको समयमा फरक धारको यस उत्प्रेरणामूलक कार्यक्रमका माध्यमबाट उद्योगी व्यवसायीहरुलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका संयोजक एवं संगठनका कार्यसमिति सदस्य सौरभ सारडाले आर्थिक विकासका शुत्रधारका रुपमा रहेका उद्योगीहरुले वर्तमान समयमा सामना गर्नुपरिरहेको आन्तरिक र वाह्रय चूनौतिलाई मध्यनजर गरी आयोजना गरेको कार्यक्रमले उद्योगीहरुलाई आगामी दिनमा आफ्नो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको समन्वयकर्ता संस्था फेक्ट नेपालका कार्यकारी निर्देशक मनिष झाले कोरोना महामारीले विश्वविख्यात मल्टिनेशनल कम्पनीहरुलाई समेत आफनो व्यवसायीक रणनीतिलाई पुन समिक्षा गर्न बाध्य बनाएको उदाहरण प्रस्तुत गर्दै उद्योगीहरुले अबका दिनमा एक व्यवसायीक योजनामा मात्र सीमित नभई अन्य विकल्पलाई समेत आत्मसात गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा स्रोत व्यक्ति साउथ एशिया सोसाईटी अफ एन्टरप्रेनर्स एडुकेटर्सका अध्यक्ष आशुतोष तिवारीले उद्योगीहरुले सकारात्मक सोचका साथ नयाँ दृष्टिकोणबाट आगामी दिनमा गुणस्तरीयतालाई ध्यानमा राखी आक्रामक बजारीकरणको माध्यमबाट खर्च न्यूनीकरण गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने उपायहरुका सम्बन्धमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे, नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष युनेशराज श्रेष्ठले उद्योगीहरुलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले सबैलाई आगामी कार्यदिशा तय गर्न उर्जा प्राप्त भएको धारणा राखेका थिए । कार्यक्रम यस क्षेत्रका उद्योगी/व्यवसायी, महिला उद्यमीहरु, वैंकर्स, प्राध्यापक र विभिन्न उद्योग प्रतिष्ठानका उच्च व्यवस्थापकहरुको सहभागिता थियो ।

शुक्रबार, ०४ भदौ, २०७८, दिउँसोको १२:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर