विराटनगर । विराटनगर विद्युत् प्राधिकरणका प्रमुखबाट सरुवा भएर चितवनस्थित भरतपुर विद्युत् वितरण केन्द्रका प्रमुख राजिव सिंहले विद्युत् पोल वापतको राजस्व संकलनमा तीब्रता दिएका छन् ।
उनले अभियान संचालन भएकै दिन आज ३२ लाख बढी राजस्व संकलन भएको जानकारी दिएका छन् । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत पोल प्रयोग बापतको राजश्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोकसमेत लगाएको छ ।
प्राधिकरणले पोल प्रयोग गरे वापत राजस्व लिने कार्यविधि २०७३ सालमै बनाए पनि कम्पनीहरुले राजस्व तिर्न आनाकानी गर्दै आएको सिंहले जानकारी दिए ।
सिंहका अनुसार प्राधिकरणले आजमात्रै चितवन केवल नेटवर्कबाट ३० लाख ५५ हजार ६८ रुपैयाँ र कनेक्ट नेपाल नेटवर्कबाट १ लाख ७७ हजार ९ सय ६५ रुपैयाँ राजश्व अशुल गरेको हो । विद्युत पोल प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क ग्राहबाट उठाउने तर, प्राधिकरणलाई भने केबल र इन्टरनेट प्रदायक संस्थाले तिरेका छैनन् ।
इन्टरनेट सेवा वा अन्य सञ्चार सम्बन्धी सेवा प्रदान गर्ने कम्पनीहरुले नियमित पोल चार्ज बापत पोल भाडा अवस्था हेरेर झण्डै नौ हजारदेखि १४ हजार प्रतिकिलोमिटर तिर्नुपर्ने हुन्छ । साथै प्राधिकरणले विद्युतीय संरचना प्रयोग गरी नेटवर्क बिस्तार कार्य प्राधिकरणसँगै सम्झौता नगरी नगर्न/नगराउन पनि सूचना जारी गरेको छ ।